प्रमुख दलका कार्यकर्ताहरुले मञ्च तोडफोड गरेपनि संघीय गठबन्धनले इटहरीमा विरोध सभा गरेको छ।
संघीय गठबन्धनले मञ्च तोडफोड गरिएकै स्थानमा विरोध सभा गरेको हो। सभामा नगण्य कार्यकर्ता मात्र सहभागी भएका छन्। सभामा मञ्चमा राखिएका कुर्सी भरिए पनि दर्शक दीर्घाका अधिकांश कुर्सी खाली थिए।
गठबन्धनको सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरुले भाषण गर्ने कार्यक्रम रहेकामा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालका कार्यकर्ताहरुले मधेशी नेताहरुमाथि मुलुक टुक्र्याउन खोजेको आरोप लगाउँदै मञ्च तोडफोड गरिदिएका थिए।
उनीहरु मञ्चमा राखिएको ब्यानर सडकमा पुर्याएर आगजनीमा उत्रिएपछि इटहरीको अवस्था तनावग्रस्त भएको थियो। सुरक्षाकर्मीले संयमता अपनाइ आगजनीमा उत्रिएका काँग्रेस एमालेका कार्यकर्तालाई नियन्त्रणमा लिएपछि संघीय गठबन्धनले अपरान्ह विरोध सभा गरेको हो।
सभामा संघीय लिम्बुवान नेपालका अध्यक्ष कुमार लिङदेनले आफूहरुले सामाजिक सद्भाव कायम गर्नका लागि सभा राखेको भन्दै सभाको मञ्च तोडफोड गरेर काँग्रेस र एमालेका कार्यकर्ताले जंगली चरित्र देखाएको आरोप लगाए।
उनले पहाडी नेता मधेशमा जाने अवस्था बनोस् भनेर मधेशी नेतालाई सभामा निम्ता गरेको भन्दै कार्यक्रमस्थलमा तोडफोड गरेर काँग्रेस र एमालेले सामाजिक सद्भाव विथोल्न खोजेको आरोप पनि लगाए।
मञ्च तोडफोडका कारण मधेशी नेताहरू सभामा सहभागी भएनन्। सभालाई लिङदेनका अतिरिक्त लिम्वुवान मुक्ति मोर्चाका अध्यक्ष पदम अधिकारी, सामाजिक लोकतान्कित्र पार्टीका अध्यक्ष दलमर्दन कामी, तराई थरुहट पार्टीका अध्यक्ष भानुराम चौधरी लगायतले सम्बोधन गरेका थिए ।