भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा अहिले देखिएको संकट समाधानको साँचो दिल्लीमा नभइ काठमाडौंमा नै रहेको बताएका छन्।
भारतीय जनता पार्टीका नेता जोलीले बिहिवार रिपोर्टस क्लबले काठमाडौमा गरेको साक्षात्कारमा अहिलेको संकट समाधानका लागि सरकारले आन्दोलनरत मधेशी र थारु नेतासँग कुरा गर्नुपर्ने बताए।
उनले नेपालमा संकट निम्तिनुको कारण भारत नभइ नेपाल आफैं भएकाले नेपालले संकट निम्तिनुमा संलग्न पक्षहरुसँग वार्ता गरेर समाधान खोज्नुपर्ने बताए।
भारतीय जनता पार्टीका नेता जोलीले मधेशवादी दलहरुले सीमा क्षेत्रमा अवरोध गरी आम हड्ताल आव्हान गरेका कारण असुरक्षाका कारण भारतले इन्धनका ट्यांकर र मालवाहक ट्रक सामान्य अवस्थामा सरह नेपाल नपठाएको बताए। उनले मधेशवादी दलको आन्दोलनका कारण भारतमा इन्धनका ट्यांकर र मालवाहक ट्रकको ७५ किलोमिटर लामो लाइन लागेको भन्दै सुरक्षाको ग्यारेण्टी भए भारतले सबै ट्ंयाकर र ट्रक नेपाल पठाउने बताए।
साक्षात्कारमा भारतीय जनता पार्टीका नेता जोलीले मधेशवादी दलको आन्दोलन अन्त्य गरेर अवस्था सहज तुल्याउनका लागि मध्यस्थकर्ताको रुपमा सहयोग गर्न भारत तयार रहेको समेत बताए। उनले सकारात्मक परिणामका लागि भारत नटबोल्टको भूमिका निर्वाह गर्न तयार रहेको बताए।