नयाँ शक्ति निर्माण अभियानले मधेश आन्दोलनको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
अभियानमा संलग्न नेताहरुले बिहिबार अपरान्ह संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिका नेताहरुलाई भेटेर मधेश आन्दोलन भएको एक सय दिन वितिसक्दा पनि सरकारले आन्दोलन सम्बोधन गर्न चासो नदिएको भन्दै सरकारलाई दवाब दिन काठमाडौंमा प्रदर्शन गर्ने बताएको हो।
मधेश आन्दोलनको पक्षमा प्रदर्शन गर्ने जानकारी दिन नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराई केही नेतालाई साथै लिएर तराई मधेश लोकतान्त्रिकको पार्टी कार्यालयमा पुगेका थिए।
मोर्चाका नेताहरुसँगको भेटवार्तामा नयाँ शक्ति निर्माण अभियानले मधेश आन्दोलन सम्बोधनका लागि दवाब दिने क्रममा धर्ना, प्रदर्शन, अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने जानकारी गराएको अभियानका जातीय मोर्चा संयोजक रामकुमार शर्माले जानकारी दिए।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि यसअघि नै आन्दोलन सम्बोधनका लागि दवाब दिन भन्दै काठमाडौमा विभिन्न कार्यक्रम गर्ने घोषणा गरिसकेको छ।