अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी गरेको देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशासम्बन्धी श्वेतपत्रमा इन्धन, खाद्यान्न र दैनिक उपभोगका अत्यावश्यक सामग्रीको बिक्री वितरणलाई व्यवस्थित गर्न, मापदण्ड निर्धारण गर्न र बजार अनुगमनका लागि सरोकारवाला निकाय, उपभोक्ता हितसम्बन्धी संघसंस्था र निजी क्षेत्र सम्मिलित संयन्त्र अविलम्ब निर्माण गरी परिचालन गरिने उल्लेख छ ।
बन्द, हडताल र आपूर्ति प्रणालीको अवरोधले अर्थतन्त्रमा पारेको प्रभावको निरन्तर अध्ययन गरी आज जारी भएको श्वेतपत्रमा उल्लेखित कार्यको अनुगमन गर्न निजी क्षेत्र सम्मिलित उच्चस्तरीय समिति गठन गरिने र समितिले तत्काल चाल्नुपर्ने कदम पहिचान गरी कार्यान्वयनका लागी सरकारलाई सिफरिस गर्ने उल्लेख छ ।
संविधानबमोजिम नयाँ बनाउनुपर्ने र बनाउन संसोधन गर्नुपर्ने कानुन मस्यौदाको कार्यलाई प्रभावकारीरुपमा अघि बढाइने श्वेतपत्रमा भनिएको छ ।
भन्सार नाका, राजमार्ग, औद्योगिक कोरिडोर, शिक्षा, स्वास्थ्य, सार्वजनिक क्षेत्रमा अवरोध हुन नदिन, लुटपाटजस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र असहज स्थितिको फाइदा लिन खोज्ने र कालोबजारी गर्नेलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने अर्थमन्त्री पौडेलले बताए।
सीमा क्षेत्रमा हुनसक्ने अवैध आयात, निर्यात रोक्न, भन्सार एवम् सुरक्षा नाकाको समन्वयात्मक र प्रभावकारी परिचालन गरिन, राजस्व चुहावट र कर छली नियन्त्रण गर्न विशेष गस्ती परिचालन गरिने उल्लेख छ ।
आगामी तीन महिनाभित्र आधिकारिक ट्रेड युनियनको निर्वाचन गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
खटाएको स्थानमा नजाने, सेवा प्रवाहमा लापर्बाही गर्ने र तोकिएको काम समयमै सम्पन्न नगर्ने कर्मचारीलाई विभागीय कारबाही गरिने पनि श्वेतपत्रमा उल्लेख छ । रासस