सरकारले आपूर्ति प्रणालीमा आएको अवरोधबाट अर्थतन्त्रमा गम्भीर संकुचन आएकाले चालु आर्थिक वर्ष २ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हुन नसक्ने अनुमानसहितको श्वेतपत्र सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले मंगलबार साँझ अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी मुलुकको वर्तमान आर्थिक अवस्था र सरकारको तत्कालको कार्यदिशा सम्बन्धी १ सय १३ बुँदे श्वेतपत्र सार्वजनिक गरेका हुन्। अर्थमन्त्री पौडेलले मधेशवादी दलको आन्दोलन र भारतको अघोषित नाकाबन्दीले आपूर्ति प्रणाली प्रभावित हुँदा आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा सीमिति हुने देखिएको तथा नाकाबन्दी र आन्दोलन लम्बिए वृद्धिदर अझै संकुचित हुने बताए।
सरकारले गत असार मसान्तमा चालु आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्यसहित बजेट सार्वजनिक गरेको थियो। गत आर्थिक वर्ष पनि ६ प्रतिशतको लक्ष्य लिइएकामा वृद्धिदर ३ प्रतिशतमा सीमित भएको थियो। आन्दोलन र नाकाबन्दीका कारण पूँजीगत बजेटको खर्च पनि प्रभावित भएको छ। चालु आर्थिक वर्ष पूँजीगत बजेटतर्फ २ खर्ब ८ अर्ब ८७ करोड ७२ लाख ४२ हजार रुपैयाँ छुट्याइएकामा कात्तिक मसान्तसम्म जम्मा ४ दशमलव १ प्रतिशत मात्र पूँजीगत बजेट खर्च भएको छ ।
कृषि क्षेत्रको आर्थिक वृद्धिदर १ प्रतिशतमा सीमित हुने श्वेतपत्रमा उल्लेख छ । अर्थमन्त्री पौडेलले मौसमी प्रतिकूलताका कारण कृषि क्षेत्रमा २१ प्रतिशत भार रहेको धानको उत्पादन ५ प्रतिशतल घट्ने अनमान गरिएको बताए। उनले मुलुकलाई वार्षिक ५३ लाख ४५ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा असार मसान्तसम्म जम्मा १ लाख ५५ हजार मेट्रिक टन खाद्यान्न वचत रहेको र उत्पादनमा गिरावट आउने देखिएकाले खाद्य सुरक्षा कायम राख्न चुनौती थपिएको बताए।
श्वेत पत्रमा सेवा क्षत्रको वृद्धिदर पनि ३ प्रतिशतमा सीमित रहने देखिएको उल्लेख छ । कुल गार्हस्थ उत्पादनमा ५० प्रतिशत हिस्सा ओगट्ने सेवा क्षेत्रको वृद्धिदर गत आर्थिक वर्ष ६ दशमलव १ प्रतिशत थियो ।
अर्थमन्त्री पौडेलले गत वैशाख महिनामा गएको भुकम्पका कारण ७ लाख व्यक्ति गरिबीको रेखामुनी धकेलिएको अनुमान गरिएको र हालको अवस्थाले गरिबी अझै बढ्ने देखिएकाले सन् २०२२ सम्म मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्नु निकै चुनौतिपूर्ण देखिएको बताए।। उनले आन्दोलन र नाकाबन्दीले खाद्य पदार्थतर्फको मुद्रा स्फीतिदर अत्यधिक बढेको तथा कच्चा पदार्थ र सेवा क्षेत्रका साधनहरुको मूल्यवृद्धिले गैर कृषि क्षेत्रको उत्पादन लागत बढ्न गइ खाद्य वस्तुको मूल्यमा थप चाप पर्ने अवस्था देखिएको बताए।
श्वेतपत्र अनुसार चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो आर्थिक वर्षको तीन महिनाको भन्दा ६१ अर्ब २३ करोड रुपैयाँ कमका वस्तु आयात भएका छन् भने निर्यात पनि ६ अर्बले घटेका कारण कुल व्यापारमा ३१ प्रतिशतले गिरावट आएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा खाद्यान्नको आयातमा २६ दशमलव ७ प्रतिशत तथा औषधी र औषधीको कच्चा पदार्थको आयात ५४ दशमलव ७ प्रतिशतले कमी आएको छ । भारतले नाकाबन्दी लगाएपछिको दुई महिनामा पेट्रोलको आयात ७० दशमलव ६ प्रतिशत, डिजेलको आयात ६२ दशमलव ८ प्रतिशत, खाना पकाउने एलपीजी ग्याँसको आयात ७१ दशमलव ८ प्रतिशत र हवाइ इन्धनको आयात ८४ दशमलव ४ प्रतिशतले घटेको छ।
अर्थमन्त्री पौडेलले आन्दोलन र नाकाबन्दीले इन्धन अभाव हुँदा ठूला आयोजनाहरु सबै अवरुद्ध रहेको, सरकारी र निजी आयोजनाको निर्माण अवधि र लागत बढ्ने देखिएको तथा पर्यटन क्षत्रको रोजगारी २५ प्रतिशतले कटौती भएको बताए।हेर्नुहोस् स्वेतपत्रको पूर्ण पाठ हेर्नुहोस्