प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दीपछि इन्धनको अभावमा गन्तव्यमा पुग्न कठिनाइ झेल्दै आएका आम सर्वसाधारणले केही महिनापछि उपत्यकामा सजिलै सवारी साधनमा ओहोरदोहोर गर्न पाउने बताए।
प्रधानमन्त्री ओलीले आफूले २/४ महिनाभित्रै काठमाडौ उपत्यकामा विद्युतीय सवारी साधनको व्यवस्था गर्ने बताए। प्रधानमन्त्री ओलीले शनिबार बिहान बालुवाटारस्थित आफ्नै निवासमा कलाकारहरूको टोलीसामु इन्धनको अभावमा उपभोक्ताहरुले अहिलेजस्तो समस्या झेल्नु नपरोस् भनेर आफूले उपत्यकामा पर्याप्त संख्यामा विद्युतीय सार्वजनिक बस र कार सञ्चालनमा ल्याउन लागेको भन्दै बढीमा पाँच महिना कुर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले पोखरा, विराटनगर, हेटौंडा, नेपालगञ्ज लगायतका शहरमा समेत विद्युतीय बस संचालनमा ल्याउने बताए। उनले आफूले सस्तो लोकप्रियताका लागि नभइ काम गरेरै देखाउन विद्युतीय वस सेवा संचालन र एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कुरा गरेको बताए।
उनले आफू गाउँमा बाख्रा चराउने गोठालो भएको भन्दै जनताले भोग्दै आएका साना साना समस्याका बारेमा आफूलाई जानकारी रहेको र ती समस्या समाधान गर्नु आफ्नो लक्ष्य भएको बताए।