'नयाँ शक्ति'को बहस चलाइरहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौ र दिल्लीका शासकहरूको दोहोरीको मारमा नेपाली जनता परेको बताएका छन् । हेटौंडामा आज 'नयाँ शक्ति' बारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले भने -'दिल्लीको कुन माग पूरा नभएर सीमामा नाकाबन्दी भइरहेको हो ? सरकारले जनतालाई जानकारी दिन श्वेतपत्र जारी गर्नुपर्यो ।' तीन महिनादेखिको मधेश आन्दोलन र डेढ महिनादेखि जारी नाकाबन्दीबाट पछि परेको अर्थतन्त्रलाई उठाउन दशकौं लाग्ने उनको भनाई छ ।
विश्व महाशक्तिको होडमा रहेका भारत र चीनबीच स्वाधिन र आत्मनिर्भर मुलुक बनाउनु गम्भीर रहेको बताए । भट्टराईले २ सय वर्षदेखि नेपाली बजारमाथी भारतीय एकाधिकारवादी पूँजीले कब्जा जमाईरहेको उल्लेख गरेका छन् ।
यसैगरी पूर्व प्रधानमन्त्री भट्टराईले संघीयता बिरोधी चित्रबहादुर केसी देखि गणतन्त्र बिरोधी कमल थापा सहितलाई साथ लिएको सरकारले संविधान कार्यान्वयन हुन नसक्ने बताए । उनले प्रश्न गरे- '६ जना उपप्रधानमन्त्री ६ तिर फर्किएको सरकारले यो संविधान कसरी कार्यान्वयन गर्न सक्छ ?' उनले जारी मधेश आन्दोलनमा संचार क्षेत्रको भूमिकाका बारेमा समेत असन्तुष्टी व्यक्त गरेका छन् ।
आम संचारले सत्य कुरा सम्प्रेषण गर्न नसकेको भन्दै उनले 'आफूमात्र नेपाली भएको' मानसिकताले दुष्प्रचार गरेर पहाड र मधेशबीचको फाटो झनै चर्काउने काम भइरहेको आरोप लगाए । वर्तमान अवस्थामा देशले दु:ख पाउने र हालसम्मका उपलब्धी गुम्ने खतराका कारण नयाँ शक्ति आवश्यक रहेको भट्टराईले दाबी गरेका छन् ।
यसैबीच, आजै साँझ हेटौँडामा पत्रकार सम्मेलन गर्दै भट्टराईले भविष्यमा आफू कम्युनिष्ट राजनीतिमा सक्रिय हुनसक्ने सम्भावना कायमै रहेको बताएका छन् । सन्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने- 'नयाँ शक्तिमा अहिले भट्टराई खेमा मात्र रहे पनि अन्य थुप्रै शक्तिहरूसँग कुरा भइरहेको छ र ती चाँडै व्यवहारमा देखिने छन् ।