नेकपा एमालेका सचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले छठसम्ममा पनि आन्दोलन र नाकाबन्दीको समस्या समाधान नभए सशक्त कदम चाल्ने बताए।
उनले आन्दोलनरत पक्षसँग वार्तामार्फत् समस्या समाधान गर्न लागिपरेको बताउँदै वार्ताको प्रक्रिया छैठसम्म चल्ने बताए।उनले नेपालमा आएर गैह्र नेपालीले वितण्डा मच्चाएको आरोप लगाउँदै छैठ पछि पनि अशान्ति मच्चाउने गैह्र नेपालीलाई जहाँबाट आएको, उतै पठाइदिने चेतावनी दिए ।
‘छठसम्म कसैलाई नचलाउने र वार्ताबाटै हल खोज्ने,’ इटहरीमा प्रेस चौतारीले गरेको शुभकामना कार्यक्रममा बोल्दै उनले भने, ‘छठपछि पनि भएन भने नेपाली र आमन्त्रित नेपाली नागरिकको भेद छुट्याउँछौं, हामीलाई आमन्त्रितको होइन, नेपाली नागरिकको माया छ ।’ उनले तराई–मधेसमा सीमाको अत्याचार सहेर राष्ट्रियताको रक्षा गर्दै बस्ने नेपाली नागरिकलाई सम्बोधन गर्ने तर वितण्डा मच्चाउने गैह्र नेपाली नागरिकलाई वास्ता नगर्ने बताए ।
उनले सीमानामा भाला, तरबार बोकेर प्रदर्शन गर्नेहरु नेपाली हुँदै नभएको जिकिर गरे।‘यतिकुरा दावीका साथ भन्न सक्छु, ती नेपाली होइनन्,’ उनले भने, ‘साँच्चैका नेपालीहरुले बोल्न पाएका छैनन् ।’
उनले वीरगञ्जको भारतीय वाणिज्य दुतको कार्यालयले आन्दोलनको ठेक्का लिएको समेत आरोप लगाए।‘हरेक उसको कामै त्यही भएको छ, आन्दोलनकारीलाई दिनको दुई सय रुपैया भत्ता, यौटा ढुंगा हानेवापत ५० रुपैया दिने गरिएको छ,’ उनले राज्यको पनि बटमलाइन भएको बताउँदै तराईमा दुई मधेस प्रदेश सम्भव नभएको बताए।‘मधेसी दलहरु रिसाउँछन् कि भनेर लुकाउने कुरा हुँदैन, दुईटा मधेस प्रदेश हुँदैन,’ उनले भने ।
उनले तराइमा भइरहेको आन्दोलन नेपाललाई भारतमा गाभ्ने षड्यन्त्रअनुसार भएको बताए।जवाहरलाल नेहरुले नेपाल भारतको अधिनस्थ मुलुक भएको अभिव्यक्ति दिएको इतिहास कोट्याउँदै भने, ‘उनको जीवनकालभरी नेपाललाई भारतमा गाभ्ने सपना पुरा भएन, उनको उत्तराधिकारी इन्दिरा गान्धी सिक्किममै अल्झिन्, अहिले नेपालमा मोदीले जे गरेका छन्, त्यो हिजोकै निरन्तरता हो ।’
भट्राइले नेपालको तराई प्रदेश श्रीलंकाको तामिल नहुने र कसैले बनाउने प्रयास गरे जस्तोसुकै प्रयास गर्ने बताए।उनले तराई मधेसमा बस्ने देशभक्त नागरिकले नै त्यो हुन नदिने बताउँदै ठूलो जनमत तराई मधेसको विकास र संमृद्धिको पक्षमा रहेको बताए ।
उनले सात प्रदेशको सीमांकनमा हेरफेर नहुने बताए।अर्को ठाउँबाट झन् ठूलो विद्रोह हुने बताउँदै राजनीतिक निर्णयकै आधारमा सात प्रदेश हेरफेर नहुने बताए।सुनसरीलाई दुई नं. प्रदेशमा नराख्न कार्यक्रमका सहभागिले गरेको आग्रहलाई सम्बोधन गर्दै उनले सुनसरी वा सुनसरीको कुनै पनि गाविसलाई दुई नम्बर प्रदेशमा राख्ने गरी एमालेले निर्णय नगर्ने आश्वासन समेत दिए ।
जनसंख्याको आधारमा मात्रै निर्वाचन क्षेत्र बनाउने कुरा सम्भव नभएको बताउँदै उनले देशको भूगोल र जनसंख्याको आधारमा सन्तुलित रुपमा निर्वाचन क्षेत्र बनाइने बताए।भट्टराईले भारतमै पनि ४७ हजारका देखि ३५ लाखसम्मको निर्वाचन क्षेत्र भएको बताउँदै जनसंख्याको आधार विकट गाउँका जनतालाई पनि जनप्रतिनिधि चाहिएकोले सोहीअनुसार बनाउने बताए ।
उनले इतिहासमै नेपाली काँग्रेसले ठूलो भूल गरेको बताउँदै काँग्रेसलाई देशप्रति जिम्मेवार हुन आग्रह गरे।उनले सँगै मिलेर जान र समस्याको मिलेरै समाधान खोज्न समेत आग्रह गरे ।
उनले अन्धकार बिहारलाई नेपालले बिजुली दिन सक्ने तर त्यसको लागि शान्तीपूर्ण ढंगले काम गर्न दिनुपर्ने माग गरे।उनले नेपाल शान्त हुँदा भारतलाई पनि फाइदा हुने बताए ।
उनले अन्तर्राष्ट्रिय आतंकवाद नेपालको ऐजेण्डा नभएपनि छिमेकीकै सुरक्षाको लागि देशको सुरक्षा निकायको ठूलो हिस्सालाई त्यसतर्फ केन्द्रित गरेको बताउँदै नेपाल अशान्त हुँदा त्यसको असर भारतलाई पनि पर्ने बताए ।
उनले नेपालको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय फोरममा भारतसँग भनाभन भएको बताउँदै यस्तो भनाभन अब दर्जनौंपटक हुने ठोकुवा गरे।‘हाम्रा प्रधानमन्त्री भारत भ्रमणमा जान्थे, मुन्टो हल्लाउँदै आउँथे, अब मुन्टो हल्लाएर काम छैन,’ उनले भने ।
उनले भारतलाई सामुहिक स्वार्थमा लगानीको अवसरका लागि सधैं स्वागत गरेको बताउँदै यहाँको सम्पदाहरुको स्वामित्व भने दिन नसक्ने बताए।उनले नाकाबन्दीका कारण शिक्षा, स्वास्थ्य, पोषणमा ठूलो मानवीय संकट आउने सम्भावना औंल्याउँदै अन्तर्राष्ट्रिय मित्रहरुबाट सहयोगको अपेक्षासमेत गरे।नेपालप्रति नराम्रो व्यवहार गर्ने भारतीय नेतृत्वले नराम्रो नियति भोग्नुपर्ने बताउँदै मोदीको पार्टीले प्रदेश चुनावमा असफल हुँदै आएको उदाहरण दिए ।