नयाँ शक्ति बनाउने भन्दै पार्टीबाट एक्लै बाहिरिएका बाबुराम भट्टराईलाई साथ दिन उनी निकटका चार दर्जन एमाओवादी केन्द्रीय तहका नेताले एमाओवादी छाडेका छन्। मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा कार्यालय मुख्य सचिव हितराज पाण्डेलाई असहमतिपत्र बुझाउँदै उनीहरुले एमाओवादी पार्टीको रुपमा नरहेको समेत आरोप लगाएका छन्। उनीहरुले पत्रमा सिधै राजिनामा नभनी ‘नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुट्ने’ पदावली उल्लेख गर्दै भट्टराईको नयाँ पार्टीमा लाग्ने जनाउ दिएका छन्।
‘जसरी र जोसित भए पनि एमाओवादी पार्टी नेतृत्वको सरकारमा जाने भन्ने नीति मात्र देखियो। पद र जागिरको लागि त यहाँ यसरी बस्नु ठीकै होला, तर पार्टी जीवनको लागि राम्रो भएन भनेर विमतिसहितको जनाउ दिएका छौं,’ देवेन्द्र पौडेलले सेतापाटीसित भने।
पौडेल भट्टराई सरकारका राजनीतिक सल्लाहकार थिए।
एमाओवादी छाड्ने अन्य नेतामा भट्टराईपत्नी हिसिला यमीसहित भट्टराई प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका गंगानारायण श्रेष्ठ र प्रेस सल्लाहकार रहेका रामरिझन यादव पनि छन्।
‘अब हामी नयाँ शक्ति निर्माणमा जुट्छौ,’ गंगानारायण श्रेष्ठले सेतोपाटीसित भने।
यसैगरी रामचन्द्र झा, नवराज सुवेदी, रामकुमार शर्मा र एमाओवादी बुद्धिजीवी अध्यक्ष खिमलाल देवकोटालगायत ४५ जनाले एमाओवादी छाडेका छन्।