वीरगंज-रक्सौल नाकामा भारतीय भूमिमा नेपाली आन्दोलनकारीलाई भोजन र खाजाको व्यवस्था गर्दै आएका भारतीय जनता पार्टीका (भाजपा) नेता महेश अग्रवाललाई भारतीय परराष्ट्र मन्त्री सुस्मा स्वराजले दिल्ली भ्रमणको निम्तो दिएकी छिन्।
भारतीय समाचार संस्था फर्स्टपोस्टका अनुसार यति ठूलो जमातलाई भोजन व्यवस्था गर्न सक्ने औकात भएका र मधेसी आन्दोलनमा योगदान गर्दै आएका अग्रवालसँग स्वराजको भेट बिहारमा भइरहेको चुनावी अभियानका क्रममा भएको थियो।
‘परराष्ट्रमन्त्री स्वराजले यस सम्वन्धमा अझ विस्तृत छलफल गर्न अग्रवाललाई दिल्ली भ्रमणको निम्तो दिएकी हुन्,’ फर्स्टपोष्टले लेखेको छ।
भेटका क्रममा अग्रवालले स्वराजसँग आफ्नो योगदान बारे बेलीविस्तार लगाएका थिए।
मधेस आन्दोलनमा हिन्दुवादी भाजपाको सहयोग प्राप्त भइरहेको पनि उक्त समाचार संस्थाले बताएको छ।
‘भाजपाको (आन्दोलनमा) खुला उपस्थिति छैन तर उक्त पार्टीको समर्थन भने प्रष्ट सँग देखिन्छ,’ समाचारमा लेखिएको छ।
अग्रवाल महिमा एक्स्पोर्ट्सका मालिक र सफल ब्यापारी हुन्। अहिले उनको मेसमा खाना खानेको संख्या २० हजारसम्म पुगेको अग्रवालले दाबी गरेका छन्।