संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ता टोलीका सदस्य लालबाबु राउतले सीमांकनमा सरकार उदासिन भए मधेसले जनमत संग्रहको माग अगाडि बढाउने चेतावनी दिएका छन्। रिपोटर्स क्लबले शनिबार राजधानीमा गरेको सात्क्षात्कारमा बोल्दै राउतले आफूहरु अखण्ड नेपालकै पक्षमा रहेको बताए पनि जनमत संग्रहको पेण्डुरा बक्सबाट के के निस्कन्छ अहिले नै भन्न नसकिने भन्दै अलग मुलुकको माग समेत हुन सक्ने संकेत गरे।
राउतले सरकारले अबको वार्तामा सीमांकनको स्पष्ट खाँका नल्याए वार्ता भंग हुने चेतावनी दिँदै अधिकार नपाए मधेसीहरु मर्न समेत तयार रहेको स्पष्ट पारे । उनले पहिलो उच्चस्तरीय राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन आफूहरुको बटम लाइन भएको भन्दै अहिले सरकारले बार्ताको नाटक मात्र गरिरहेको आरोप लगाए ।
राउतले भने,‘ हामी वार्ताकै पक्षमा छौ । सरकार तपाईहरुको एजेण्डा छैन भन्छ , त्यसो भए किन संविधान संशोधन प्रस्ताव दर्ता गराएको? हामीलाई अहिले किन वार्ता गरेको भन्ने दवाव छ, यस्तै अवस्था रहे हामी बार्ता भंग भएको घोषणा गर्छौ।
बार्ताको लागि सरकारले आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति, सहीद घोषणा, घाईतेको निशुल्क उपचार, सम्पत्ति नष्ट भएकालाई क्षतिपूर्ति र दमनको न्यायिक छानविन आयोग गठन गर्नु पर्ने भन्दै नागरिकताको सवाल अरु कुनै समस्या नभए पनि बैवाहिक अंगिकृतको विषयमा भने आफूहरुको गंभिर चासो रहेको बताए।
उनले आन्दोलनलाई नेपाल भारत सीमासम्म पुर्याउने राज्य भएकोले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार राज्य हुनु पर्ने बताए । राउतले चीनको झण्डा जलाउनु गलत भएको भन्दै यसमा राज्यकै षडयन्त्र भएको दावी गरे।
त्यस्तै थारुवान/थरुहट संयूक्त संघर्ष समितिका वार्ता टोली सदस्य अमनलाल मोदीले मधेसी मोर्चाले आफूहरुको मुद्दामा खेलिरहेको भन्दै यस्तै अवस्था भए भोलीका दिनमा थारु र मधेसीवीच मतभेद हुने चेतावनी दिए।
उनले मधेसीसँग वार्ता गरेर मधेसको समस्या समाधान भए पनि थारुसँगको समस्या समाधान नहुने ठोकुवा गर्दै पश्चिममा चितवनदेखि कञ्चनपुरसम्म एक, सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा र उदयपुर मिलाएर एक र बाँकीको अर्को प्रदेश बनाउनु पर्ने धारणा राखे ।
मोदीले थारु आन्दोलन समाधानको लागि सरकारले भूमिका खेल्न नसकेको भन्दै तिहारपछि आन्दोलनको आँधी बेहरी ल्याउने चेतावनी दिए ।