असोज २४ गते केपी ओली प्रधानमन्त्री निर्वाचित भएपछि लक्ष्मी भण्डारी र विद्या भण्डारीबीच टेलिफोन संवाद भएको थियो। देउरानी लक्ष्मीले त्यतिबेला विद्यालाई जिस्क्याएकी थिइन्, ‘रक्षामन्त्रीजस्तो शक्तिशाली पदमा पुग्नुभयो, अब अलि ठूलै ठाउँ ताक्ने हो कि ! राष्ट्रपतिमा तपाईं लड्नुपर्छ।’
नयाँ सरकार गठनसँगै हल्लाखल्ला सुरू भयो– विद्यालाई राष्ट्रपतिमा सिफारिस गर्नेबारे। नभन्दै नेकपा एमालेले एकमनले उनकै नाम अनुमोदन गरेर मैदानमा उतारेपछि लक्ष्मीसँग विद्याले उसैगरी टेलिफोनमा मंगलबार भनिन्, ‘तपाईंले भनेको ठ्याक्कै भयो, अब काठमाडौं हिँडिहाल्नु।’
लामो समयदेखिको तराई बन्दबीच लक्ष्मी काठमाडौं त जान पाइनन्। तर, विद्या गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बनेको खबरले मदन भण्डारीको उर्लाबारीस्थित परिवारमा खुसी दौडिएको छ। ‘यो हाम्रोमात्र नभएर सारा नेपाली महिलाको जीत हो,’ लक्ष्मीले बुधबार सेतोपाटीसँग भनिन्, ‘दाइ (मदन) भएको भए पनि प्रधानमन्त्री/राष्ट्रपति केही बन्नुहुन्थ्यो होला।’
२०१८ असार ५ गते भोजपुर जिल्ला मानेभञ्ज्याङ गाविसमा जन्मिएकी सरल र साधारण राजनीतिकर्मी भण्डारी नेपाली कांग्रेसका उम्मेदवार कूलबहादुर गुरुङलाई पराजित गर्दै गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति पदमा पुगेकी छन्। गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्दा भण्डारीको राजनीतिक यात्रामा मदनको नाम पनि जोडिन्छ।
सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग मदनको पहिलो भेट भएको थियो। भोजपुरमै माध्यमिक र आइएसम्मको शिक्षा लिएकी विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो। मदन भूमिगत राजनीति गर्थे। त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो।
कठोर भूमिगत कालमै मदन र विद्या २०३९ सालमा वैवाहिक बन्धनमा बाँधिए।
मदन २०३८ सालदेखि नै विराटनगर बस्थे। पञ्चायतकालीन प्रशासनको तारो बनेका हुनाले वैवाहिक जीवन पनि त्यति सहज भएन। परिवारका अनुसार २०४१ सालमा जेठी छोरी उषाकिरण जन्मिइन्। कान्छी निशाकुशुम २०४४ सालमा। पञ्चायत शासनको तीव्र आलोचना र विरोध चर्किरहेको त्यतिबेला भूमिगत अवस्थामै मदनको लोकप्रियता चुलिँदै गएको थियो।
मदनका साइँला भाइ मोहन र बुहारी लक्ष्मीका अनुसार दुई छोरी जन्मिसक्दा पनि विद्या र मदनको जीवन कठोरपूर्वकै बितेको थियो। २०४६ को जनआन्दोलन सफल भएपछि मदन खुला राजनीतिमा उदाए। त्यसपछि मात्रै मदन र विद्याको जीवन सहज बन्यो।
त्यो सहज जीवनको धागो भने लामो समय टिक्न नपाउँदै चुँडियो। मदनको दासढुंगा दुर्घटनामा २०५० जेठ ३ गते निधन भयो। उच्चतम् लोकप्रियताको त्यो राजनीतिक जीवनमा मदन छुट्टिएको क्षणले परिवार अझै पनि स्तब्ध छ।
कलिला दुई छोरीबीच विद्याका लागि त्यो घटना दुःखदायी थियो। तै पनि विद्याले मदनको विचार र सिद्धान्तमा हिँडिरहने आत्मविश्वास लिइन्। ‘उहाँ सरल, सहज तरिकाले मदनको विचार सिद्धान्त बोकेर हिँडिरहनुभयो,’ विद्यालाई नजिकबाट चिन्ने समकालीन राजनीतिकर्मी गुरु बराल भन्छन्, ‘उहाँ पार्टीभित्र सबै पक्षसँग घुलमिल गर्न सक्ने मिलनसार राजनीतिकर्मी भइरहनुभयो।’
रामबहादुर पाण्डे र मिथिलाकी जेठी छोरी विद्याको बाल्यकाल भोजपुरमै बित्यो। बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरमा प्राथमिक तहको अध्ययन पूरा गरिन्। विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलमा उनको माध्यमिक शिक्षा सकियो। भोजपुर क्याम्पस, भोजपुरबाट आइए उत्तीर्ण भएपछि महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा बिए अध्ययन पूरा गरिन्।
भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालीन नेकपा (माले) सम्बद्ध युवालिगमा संगठित सदस्य बनेकी विद्या २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि बनेकी थिइन्।
२०३७ सालमा नेकपा (माले) को सदस्यता प्राप्त गरिन्। २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चलको सदस्य भइन्। २०३९–०४० सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्ष निर्वाचित भइन्।
तत्कालीन नेपाली कांग्रेसका विद्यार्थी नेता विजयकुमार गच्छदार त्यतिबेला स्ववियु सभापति निर्वाचित भएका थिए। २०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट विद्या प्रतिनिधि भएकी थिइन्।
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख, २०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य, २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित, त्यसपछिका दुई वटा सम्मेलनबाट अखिल नेपाल महिला संघको अध्यक्षमै छिन्।
२०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित विद्या २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भइन्। २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पनि विद्या उपाध्यक्षमा निर्वाचित भइन्। उनले अहिले नेकपा एमालेको पूर्वी कमाण्ड सम्हालिरहेकी छिन्।
मदनसँग विछोड भएपछिको एक्लो राजनीतिमा पनि विद्या २०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०५१ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या २०५४ मा वातावरण तथा जनसंख्यामन्त्री भइन्। २०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित उनी २०६७ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाको सरकारकी रक्षामन्त्री थिइन्।
विद्या गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनिरहँदा वा नेकपा एमाले बहुदलीय राजनीतिक प्रतिस्पर्धामा धेरैपटक शक्तिशाली स्थानमा रहँदा पनि मदनको दासढुंगा दुर्घटनाबारे परिवारले चित्तबुझ्दो जवाफ पाएका छैनन्। मदनको परिवारलाई उनी दुर्घटनामा मरेको पत्यार लागेको छैन।
‘मदन दाइको हत्या नै भएको हो तर त्यो रहस्यमय घटनाबारे एमाले र नेताहरू शक्तिमा रहँदा पनि कोट्याउन चाहेनन्,’ मोहन भन्छन्, ‘के कारण त्यस्तो घटना भयो परिवारलाई थाहा पाउने अवसर दिइएन।’ विद्या आफैं शक्तिशाली मन्त्री बन्दा पनि दासढुंगा घटनाको पर्दा उघ्रिएन, बरु दासढुंगा घटनाबारे फिल्म बन्यो।
विद्याका जेठा जेठाजु मनोज चितवनको देवघाटमा छन्। माइला मोहन, साइँला प्रेम उर्लाबारी छन्। कान्छा कैलाश काठमाडौं छन्। पार्टी राजनीति र सरकारी ओहोदामा रहे पनि विद्याको आर्थिक हैसियत खासै उक्लिन सकेको छैन। उनी कान्छा देवर कैलाशकै घरमा बस्छिन्।
विद्याकी जेठी छोरीले डिग्री सकेकी छिन्, कान्छीले एमबिबिएस। दुई छोरीको पालनपोषण र राजनीतिक यात्राका दौडानमा विद्या ब्लड क्यान्सर रोगसँग सामना गरिरहेकी छिन्।
श्रीमान् मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद सिद्धान्तमा एमालेको राजनीति अडेको छ। एमालेका दुई विपरीत ध्रुवबीच जबजका विषयमा तीव्र छलफल र बहस चल्ने गरेको छ। आफ्नै श्रीमान्ले प्रतिपादन गरेको जबज सिद्धान्तको विपरीत कित्तामा उभिने गरेको आरोप लाग्ने खेमामा विद्याको पछिल्लो राजनीति अघि बढ्यो। त्यही खेमामा इमान्दार देखिएकी विद्या आज राष्ट्रपति बनेकी छिन्।
छोटो समयमै मदनको राजनीतिक यात्रामा पूर्णविराम लागे पनि उनको नाममा मोरङ उर्लाबारीमा प्रतिष्ठान २०५० सालदेखि नै स्थापना भइ सञ्चालनमा छ। विद्या त्यसकी संरक्षक छिन्। प्रतिष्ठानले गरिबी निवारणमा आधारित कार्यक्रम र विभिन्न संकायमा अध्यापन गराइरहेको छ।
राष्ट्रपति पदको विजयसँगै विद्यामाथि चुनौती थपिएको छ। आजसम्मको पार्टी राजनीति सकिएको छ। विद्याबाट देशले उच्च पदमा रहेर निष्पक्ष भूमिकाको आशा गरेको छ। यसैमा राष्ट्रपति पदको गरिमा पनि अडिएको छ।