शनिबार बिहान ठाकुराम बहुमुखी क्याम्पसका प्रध्यापक एवम् वीरगन्जका नागरिक समाजका अगुवा दीपक शाक्यलाई भ्याई नभ्याई थियो।
घण्टाघर चोकमा ओर्लिएका नेवार तथा यहाँका पहाडी समुदायका हजारौं महिला पुरुषहरुको जुलुसको तयारी हुँदै थियो। ‘हाम्रो प्रतिबद्धता : मधेश आन्दोलनमा ऐक्यबद्धता’ लेखिएको ब्यानर समाउन महिलाहरु अग्रपंक्तिमा थिए।
‘मधेशमा बस्ने हामी सबै एक छौं, ‘मधेशका माग पुरा गर', ‘दमन बन्द गर’ भन्दै करिब साढे १० बजे जुलुस अगाडि बढ्यो।
सीमामा जारी नाकाबन्दी धर्नामा सहभागि हुन पर्सा र बाराका गाउँगाउँबाट आउने जुलुसको क्रम बढ्दो भए पनि नेवार तथा पहाडे समुदाय सर्मथनले हौस्याएको आन्दोलनकारीले बताएका छन्।
घण्टाघरबाट सुरु भएको जुलुस सीमा नाकामा पुग्दा मोर्चामा आबद्ध दलका अगुवाहरु स्वागत गर्न उत्साहित देखिए। पहिलेदेखि त्यहाँ रहेका धर्नाकारीले ताली बजाएर स्वागत गरेका थिए। ‘बिभिन्न पेशाकर्मीहरुको ऐक्यबद्धता जुलुसमा पहिले पनि मधेशी पहाडी सबै देखिएकै थिए,’ संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘आज महिला पुरुषको उल्लेखनीय सहभागिता देखियो, खास गरी महिलाहरु यतिका संख्यामा जनआन्दोलन तथा अघिल्लो मधेश आन्दोलनमा पनि सडकमा आएका थिएनन्।’
उसो त आन्दोलन भएको ५५ दिन बितिसक्दा पनि यहाँ सम्प्रदायिकताले ठाउँ पाएको थिएन्। तराई मधेश लोकतान्त्रिक पार्टीका माहामन्त्री यस जुलुसलाई मधेशमा बस्ने सबै समुदायको आपसी मेलमिलप र एकताको उदाहरण बताए। केन्द्रीकृत साशनबाट मधेशमा बस्ने सबै समुदाय पीडित रहेकोले त्यसको अभिब्यक्ति देखिएको नेता सोनलले टिप्पणी गरे।
‘मधशेमा बस्ने पहाडी, माडवारी, जनजाति, मुस्लिम सबैको लागि यो आन्दोलन हो,’ प्रध्यापक शाक्यले भने, ‘हामीले मधेशले उठाएको माग पुरा गराउन दवावका निम्ति जुलुस निकाले हौं, समुदाय बिषेको कुरै रहेन्, घरघरबाट महिला र बृद्धबृधाहरु समेत सडकमा आउन उत्साहित छन्, हाम्रो प्रदर्शन निरन्तर हुनेछ।’
आन्दोलनको सुनुवाई हुने पर्खेर बसेको आफूहरु जायज मागलाई सरकारले वास्ता नगरेको देखेर सडकमा आउन बाध्य भएको गैरमधेशी समुदायका अगुवाहरुको भनाई छ।
विगतका वर्षहरुमा यतिखेर दशैको अवसरमा लाग्ने ‘दशहरा’ मेलाको तयारीको चटारो रह्ने वीरगन्जमा यस पाली आन्दोलनको लहर देखिएको छ। बिहानैदेखि बिभिन्न झाँकी सहित जुलुस र्याली आउने क्रम रोकिएको छ। सीमा नाकामा जारी धर्ना १७ दिन पुगेको छ। धर्नास्थल मेलाजस्तै देखिएको छ। वार्ता गर्नु र माग सम्बोधन गर्नुभन्दा मुख्य दल सरकार बनाउने खेलमा ब्यस्त भएको प्रति बढी असन्तोष देखिन्छ।