पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारका कारण माओवादी आन्दोलन स्खलन भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले माक्सवादी अध्ययन केन्द्रले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा जनयुद्धका बेला पनि माओवादीमा भ्रष्टाचार हुने गरेको र शान्ति प्रक्रियामा आएपछि त्यो भ्रष्टाचार झाँगिएकाले माओवादी आन्दोलन स्खलन हुन पुगेको बताएका हुन्।
उनले नेताहरु भ्रष्टाचारबाट बाहिर ननिस्किएकाले आफूले पार्टी परित्याग गरेको भन्दै आफूले बनाउने नयाँ शक्तिले सदाचारलाई मुख्य प्राथमिकता दिने बताए।
कार्यक्रममा भट्टराईले सदाचारका अतिरिक्त समानुपातिक र समावेशी प्रतिनिधित्व तथा तिब्र आर्थिक विकास नयाँ शक्तिको मुख्य एजेण्डा हुने बताए। उनले मुलुकको आर्थिक विकासका लागि भारतको ठूलो लगानी आवश्यक पर्ने र भारतीय लगानी नआएसम्म अन्य मुलुकले पनि नेपालमा लगानी नगर्ने बताए। उनले भारत विच्किने डरले चीनले नेपालमा लगानी बढाउने आँट नगरेको बताए।
भट्टराईले नेपालमाथि अघोषित नाकाबन्दी लगाउनु भारतको हेपाहा प्रवृत्ति भएको बताए। उनले भारतलाई कुनै पनि वहानामा नेपालमाथि नाकाबन्दी गर्ने अधिकार नरहेको भन्दै नाकाबन्दी हटाएर आफ्नो सीमामा रोकिएका मालवाहक ट्रक र पेट्रोलियम पदार्थका ट्यांकर नेपाल पठाउन भारतसँग आग्रह गरे।