भारतीय बजार गएका नेपालीहरु दिनप्रति दिन असुरक्षित बन्न थालेको भन्दै नेपाली सुरक्षाकर्मीले सुनौली बजार जाने नेपालीहरुलाई रोक लगाउन थालेका छन्।
दैनिक उपभोग्य सामान किनमेलको लागि भारतको सुनौली बजार गएका नेपाली युवाहरु मधेशी मोर्चाका कार्यकर्ताहरुबाट भारतिय भूमिमा कुटिन थालेपछि प्रहरीले पारी जान नै रोक लगाउन थालेको हो।
प्रहरीले अत्यावश्यक काम बाहेक भारतीय बजारमा किनमेलको लागि मात्र नजान आग्रह गर्दै सीमावारी बाटै फर्काउन थालेको छ।
बुधवार मधेशी मोर्चाले प्रदर्शन गरिरहेको बखत सुनौलीबाट घर फर्किदै गरेका तिलोत्तमा नगरपालिका भलवारीका कृष्ण बहादुर क्षेत्रीलाई मोर्चाका कार्यकर्ताहरुले निर्मम तरिकाले आक्रमण गरी शख्त घाईते बनाएका थिए।
यसअघि सोमबार पनि भारतीय सेनामा कार्यरत बुटवल देविनगरका गणेश थापा र उनका दाजुमाथी सुनौली बजारमा भारतीय सुरक्षाकर्मीहरुको अगाडि कुटपिट भएको थियो।
मधेशी मोर्चाको सीमानाका केन्द्रीत आन्दोलनसँगै युवाहरु कुटिनुको साथै महिलाहरुमाथि दुर्व्यवहारका घटना बढ्न थालेपछि प्रहरीले सिमापारी जान कडाई गरेको हो।
प्रहरीले सीमापारी जान कडाई गरेपछि विहीबार सामान किनमेलको लागि एकजना नेपाली उपभोक्ता पनि सुनौली पारी गएनन्। अधिकांश नेपाली उपभोक्तामै निर्भर सुनौली बजार विहीबार सुनसान बन्यो।
दैनिक उपभोग्य सामानसँगै लत्ताकपडा गरी दैनिक ५० लाख भन्दा धेरैको सामान नेपाली उपभोक्ताले किनमेल गर्ने सुनौली बजार बिहीबार ठप्प बन्यो। रुपन्देही संगै यसक्षेत्रका जिल्लाहरु नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा लगायतका जिल्लाहरुबाट मानीसहरु सामान खरीद गर्न सुनौली जाने गर्दथे।
वर्षैभरी नेपाली उपभोक्ताको कारण भीडभाड रहने सुनौलीका पसलहरुमा चाडपर्व, विवाह तथा अन्य शुभकार्यको लागि आवश्यक सामान खरिद गर्नेहरुको भीड नै लाग्ने गर्दछ।
मधेशी मोर्चाको आन्दोलनसंगै भारतको नाकाबन्दीका कारण नेपाली उपभोक्ताहरु जान छोडेपछि व्यापार ठप्प भएको सुनौली ब्यापार मण्डलले जनाएको छ।
यता बुधवार दिनभर तनावग्रस्त बनेको बेलहिया विहीबार भने तुलनात्मक रुपमा शाँन्त रह्यो। बुधवार भएको झडपपछि विहीबार हुनसक्ने सम्भावित घटनालाइ मध्यनजर गर्दै सिमानाकामा विहानैदेखि सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो।
मधेशी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन तथा आक्रमणबाट बुधवार दुईजना सर्वसाधारण र ८ जना सुरक्षाकर्मी घाईते भएपछि स्थानीयवाशीहरु बुधवार देखि नै आक्रोशित बनेका थिए।
मोर्चाका कार्यकर्ताहरुले सुनौली बजारबाट फर्किदै गरेका नेपाली युवकलाई निर्मम तरिकाले धारिलो हतियार प्रहार गरी मरणासन्न बनाएपछि विहीबार विहानैदेखि स्थानीयवाशीपनि प्रतिकारको लागि तयार भएर बसेका थिए।
बुधवारको घटनापछि स्थानीय प्रशासनले अपनाएको कडा सुरक्षा र प्रतिकार गर्न तयार भएर बसेका स्थानीयवाशीका कारण विहीबार मोर्चाका कार्यकर्ताहरुले सिमा नाकामा प्रदर्शन गर्न सकेनन्।