नेपाल प्रवेश गरेसँगै गौतमबुद्धको जन्मभूमिको सन्देश दिँदै शान्तिको अनुभूती गराउने रुपन्देहीको सीमानाका बेलहियाको शान्तिद्धार बुधबार दिनभर तनावग्रस्त रह्यो।
दैनिक हजारौं पर्यटकहरुको लागि फूल बिच्छाएर स्वागत गर्नुपर्ने शान्तिद्धारमा दिनभर इँटा र ढुंगा बर्साइए। भारतीय भूमिहुँदै सीमानाका बेलहिया प्रवेश गरेका मधेशी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शनको कारण दिउँसो २ बजेदेखि ४ बजेसम्म सो क्षेत्र तनावग्रस्त बन्यो।
ईलाका प्रहरी कार्यालय बेलहिया र नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीहरुको सहयोगको लागि बेलहियावासी उत्रिएपछि २ घण्टापछि मात्र आन्दोलनकारी भारततर्फ भागेका थिए।
आन्दोलनकारीको आक्रमणबाट नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यान बहादुर कुँवर, प्रहरी हवल्दार चन्द्रीनाथ, प्रहरी जवानहरू तुलसी पुन, बुद्धि गन्धर्व, विनोद सुनार, राजेश गोसाई, टेकबहादुर झेडिमगर, गजेन्द्र विष्ट र सर्वसाधारण अमित सिंह घाईते भएको ईलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। घाईतेहरुको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
आन्दोलनकारी भागेपनि स्थानीयको प्रदर्शनका कारण बेलहिया बजार केहि बेर तनावग्रस्त बनेको थियो। स्थानीयवासीले सुरक्षाकर्मीले आन्दोलनकारीलाई सुरक्षा दिएर लुकाएको भन्दै नेपाली सुरक्षाकर्मीहरुप्रति आक्रोशित बनेका थिए। बुधबारको प्रदर्शनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आउने भनेपछि आन्दोलनकारीहरुले रुपन्देही सँगै नवलपरासी र कपिलवस्तुबाट समेत मोर्चाका कार्यकर्ताहरुलाई मंगलवारदेखि नै भारतीय बजार सुनौलीमा ल्याएर राखेको बताइएको छ।
महतो आउने भन्ने हल्ला सँगै बिहानैदेखि सुरक्षाकर्मीहरु पनि नेपाली सीमामा तैनाथ थिए। महतो भारतीय बजार सुनौली आएको बताईएपनि प्रदर्शनस्थल बेलहियामा भने उपस्थित भएनन्।
आन्दोलनकारीको नेतृत्व मोर्चामा आवद्ध दलका नेताहरु महेन्द्र यादव, सन्तोष पाण्डे र ओम प्रकाश यादव गुल्जारीले गरेका थिए।