पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठितत गरी नयाँ राजनीतिक दल बनाउने योजनाको खुलासा गरेका छन्। मंगलवार दाङको लमहीमा आयोजित पत्रकार घेटघाट कार्यक्रममा भट्टराईले नयाँ राजनीतिक शक्ति बनाउनकै लागि आफू देश दौडाहामा निस्किएको बताए।
उनले आफूले निर्माण गर्ने नयाँ शक्तिको स्वरूप राजनीतिक र संगठित शक्ति हुने पनि जानकारी दिए। त्यसकालागि उनले विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिलाई संगठित गरी नयाँ राजनीतिक दल बनाउने योजना रहेको बताएका थिए।
पूर्वप्रधानमन्त्री भट्टराईले सम्वृद्ध नयाँ नेपाल निर्माण गर्ने चरणमा नयाँ सगंठनले भूमिका निर्वाह गर्ने दाबी पनि गरे।
‘संविधानसभाबाट संविधान बनाउने र एउटा राजनीतिक परिवर्तनको प्रकृया अभियान पुरा भएको छ, एक यूग समापन भएको छ,’ उनले भने ‘अब हामी आर्थिक विकास र सम्वृद्धि हुँदै सम्मुन्नत नयाँ नेपाल निर्माण गर्ने नयाँ यूगमा प्रवेश गर्दैछौं।’
पार्टी र सांसदबाट समेत राजीनामा दिएर देश दौडाहामा निस्किएको भट्टराईले भने, ‘मलाई कैलाली जानबाट कसैले रोक्न सक्दैन म जसरी भएपनि कैलालीका थारु समुदायसँग भेट्न जाने छु।’
आफू एक म स्वतन्त्र नागरिक भएको चर्चा गर्दै उनले आफूलाई किन त्यहाँ जान प्रतिवन्ध लगाउन खोजिएको भन्ने प्रश्न समेत गरेका थिए।
‘कैलालीमा म जसरी भएपनि पुग्छु सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व हो,’ भट्टराईले थपे, ‘सुरक्षा दिन सकिदैन भन्दै मलाई कैलाली प्रशासनले रोक्न खोज्दै छ। तर म त्यहाँ गएरै छोड्छु।’
भट्टराई भोलि बुधबार कैलाली जाने कार्यक्रम छ।
उनले थारूहरूको आन्दोलन जायज भएको बताए। उनीहरूका माग पनि संविधान संशोधन गरेर पुरा गर्नुपर्ने उनको तर्क छ।
उनले भने ‘ढुंगामा लेखिएको अक्षर होईन संविधान, संशोधन गरेर जनताको माग पुरा गर्नुपर्छ।’ उनले पहिचानको पाँच आधार र सामार्थ्यका चार आधार सवैले स्वीकार गरिसकेकोले हिजोको प्रतिवद्धता र संविधानसभाको निर्णय कार्यान्वयन गरीनुपर्ने तर्क गरे।
भट्टराईले भारतले गरेको नाका वन्दी र आफ्नो पार्टी परित्यागको कुनै साईनो नरहेको बताए। ‘भारतले नाकाबन्दी गर्यो भन्ने कुरा छ त्यो अन्त्यन्त दुःखद छ, गलत छ अर्न्तराष्ट्रिय पारवहन सम्वन्धी सन्धिको घोर उल्लंघन भएकोछ’ उनले थपे, ‘यसबाट नेपाल प्रति थिचो मिचो छ। अन्त्य गरौं भन्ने मान्छेलाई आशंका गर्नु पटकै मनासीव छैन्।’