भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले नेपालसितको सम्बन्ध तुरुन्त पुनर्स्थापित गर्न मोदी सरकारलाई आग्रह गरेको छ। भारतले लगाएको अघोषित नाकाबन्दीले नेपाल र भारतबीचको सम्बन्धलाई नकारात्मक दिशातिर धकेल्ने भन्दै उस्ले यस्तो आग्रह गरेको हो।
‘भारतीय कांग्रेसले अहिलेको घटनालाई गम्भीररुपमा लिएको छ,’ कांग्रेस नेता प्रमोद तिवारीलाई उद्धृत गर्दै 'द इकोनोमिक्स टाइम्स'ले मंगलबार लेखेको छ, ‘प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई पुनर्स्थापित गर्न उचित कदम चाल्नुपर्छ।’
तिवारीले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नाकाबन्दी गरेर नेपाललाई अफ्ठेरो पारेको र त्यसको विकल्प खोज्न बाध्य नपार्न आग्रह गरेको उल्लेख गरेका छन्। नेपाल भारतको अभिन्न छिमेकी भएको जनाउँदै नेता तिवारीले राम्रो सम्बन्धका साथ अघि बढ्न सरकारलाई सुझाएका हुन्। उनले मोदी प्रधानमन्त्री चुनिएलगत्तै भ्रमण गरेका देशमध्ये नेपाल पनि एक थियो भनी स्मरणसमेत गराएका छन्।