संविधान निर्माणमा असन्तुष्ट रहेका आन्दोलनरत संयुक्त मधेसी मोर्चा र तीन दलबीच वार्ता सुरू भएको छ।
सिंहदरबारस्थित संसद् सचिवालयमा केहीबेर अघि सुरू भएको छ।
करिब दुई महिनादेखि आन्दोलनमा रहेको संयुक्त मधेसी मोर्चा र तीन दलका वार्ता टोलीबीच बार्ता सुरू भएको हो।
वार्ता टोलीमा सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल , संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश राय सहभागी छन्।
यस्तै तीन दलको तर्फबाट नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन्।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बिहान ११ बजे सुरू भएको बार्तामा मोर्चाले विगतमा उठाएका विभिन्न ३५ बुँदे माग पेस गर्ने मोर्चाले जनाएको छ।
‘वार्ताटोलीका चारै जना बसेर सरकारसँगको वार्तामा कुन रुपमा प्रस्तुत हुने, कस्ता एजेण्डालाई प्राथमिकता दिनेभन्नेबारे हामीले छलफल गरेका छौँ,’ वार्ता अघि सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले भने।
मोर्चाले सङ्घीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका मागलाई वार्तामा राख्ने जनाएको छ ।
मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । संविधानको विषयलाई लिएर मोर्चाले विगत ५२ दिनदेखि तराईमा आन्दोलन गर्दै आएको छ।