रुपन्देहीको सीमानाका बेलहियामा भएको झडपमा परि ९ प्रहरीसहित १७ जना घाईते भएका छन्।
भारतीय भूमि हुँदै नेपाली सीमा ठप्प पार्न आएका मोर्चाका कार्यकर्ताहरूले गुलेली र ढुंगा प्रहार गर्दा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीसहित ९ जना प्रहरी घाईते भएका छन्।
घाईते अधिकांशलाई मोर्चाका कार्यकर्ताहरुले प्रहार गरेको शिसाको गुच्चाले चोट लागेको बताईएको छ। सधैजसो दिउँसो करिब १२ बजेतिर सीमानाका धर्नामा बस्न आएका मधेशी मोर्चाका कार्यकर्तालाई रोक्न खोज्दा आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए।
गुलेली, गुच्चा, ढुंगासहितको बन्दोबस्तीसहित आएका मोर्चाका कार्यकर्ताहरुले भारतीय बजारबाट नेपाल प्रहरी र स्थानीय युवामाथि ढुंगा र गुलेली बर्साउँदा दिउँसो केही बेर बेलहिया नाका तनावग्रस्त बनेको थियो।
प्रहरीले आन्दोलनकारीमाथी आक्रमण गर्दा भारतीय प्रहरी र सर्वसाधारणलाई लाग्न सक्ने भएपछि संयमता अपनाउँदै आफू सुरक्षित बन्न पछाडि हटेको थियो। मोर्चाका कार्यकर्ताले सुनौली बजार गर्न गएका दुईजना नेपाली युवाहरुलाई भारतीय बजारमै निर्घात कुटपिट समेत गरेको प्रहरीले जनाएको छ।
आन्दोलनकारीको आक्रमणबाट प्रहरी नायब उपरीक्षक कार्कीसहित प्रहरी जवान अमृत बस्नेत, कमल भट्टराई, पूर्ण बहादुर थापा, राकेश कुमार श्रीवास्तव लगायत घाईते भएका छन्। मोर्चाका कार्यकर्ताले सिसाको गुछ्छाले गुलेलीबाट आक्रमण गर्दा बेलहिया बजारका ४ जना युवा घाइते भएका छन्।
प्रहरीले आक्रमणमा संलग्न रमेश यादव, रामु यादव र शिवदास यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। भारतीय भूमिबाट नेपाल प्रहरीमाथि ढुंगा र गुलेली बर्साउँदा र नेपाली युवाहरु आन्दोलनकारीबाट कुटिँदा समेत भारतीय प्रहरी रमिते बनेको भन्दै बेलहियावाशी भारतीय प्रहरीप्रति आक्रोशित भएका छन्।
केहिदिन सामान आयातमा सहज वातावरण बनाउने आश्वासन दिएको भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीलाई संरक्षण गरेको भन्दै उनिहरूले आक्रोश व्यक्त गरे।
विहानैदेखि सामान आयात शुरु भएपनि मध्यान्ह भएको झडपपछि दिनभर सो नाका भएर सामान आयात हुन सकेन। यो नाकाबाट सोमबार २९ वटा खाद्यान्न तथा फलफुलका ट्रक, ८ वटा पिकअप सहित ३७ वटा मालबाहक गाडी र १८ वटा बस नेपाल प्रवेश गरेको बेलहिया भन्सार कार्यालयले जनाएको छ।
आईतवार ६ वटा ईन्धनका गाडी आएको यो नाकाबाट सोमबार ईन्धन भने आयात हुन सकेन।