विभागिय टोली एपिएफलाई हराउँदै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब चौथो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको प्रतियोगितामा मनाङ– मस्र्याङ्दीले एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।
खेलको निर्धारित समयसम्म रोकेको एपिएफले खेलको दोस्रो हाफको इन्जुरी समयमा गोल खान पुग्यो । रुपेश केसीले गरेको एक मात्र गोल मनाङ–मस्र्याङ्दीका निर्णायक गोल सावित भयो। केसीले खेलको दोस्रो हाफको अतिरिक्त समय ९० प्लस दुई मिनेटमा गोल गरेका थिए। जितसँगै मनाङ–मस्र्याङ्दी २२ अङ्कका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एपिएफ भने २० अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ।
प्रतियोगितामा २६ अंकसहित थ्रीस्टार शीर्ष स्थानमा छ भने आर्मी २४ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ। समान २४ अङ्क बटुलेको मोफसलको टोली झापा फुटबल क्लब गोलअन्तरका आधारमा लिगको तेस्रो स्थानमा छ।
मङ्गलबार नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लब आमनेसामने हुनेछन् ।