भारतका लागि नेपालका राजदूत दीप कुमार उपाध्यायले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग सोमबार भेटेर सीमामा जारी नाकाबन्दीबारे छलफल गरेका छन्। छलफलका क्रममा विदेश मन्त्रालयका अधिकारीहरूले आपूर्ति स्थिति चाँडै सहज हुने जानकारी दिएको राजदूत उपाध्यायले सेतोपाटीलाई बताए।
‘मैले भारतीय अधिकारीहरूलाई भने-चाँडै सहज हुने आश्वासन पाएको धेरै दिन भयो। रिजल्टमा देखिने गरी समस्या समाधान हुनुपर्यो,’ उपाध्यायले सेतोपाटीसँग भने।
‘काम अघि बढिरहेको र परिणाम देखिने गरी चाडैनै सीमाको आवत जावत तथा इन्धन आपूर्तिमा सुधार आउनेछ,’ उपाध्यायले भारतीय अधिकारीलाई उद्धृत गर्दै भने।
भारतीय विदेश मन्त्रालयले राजदूत उपाध्यायलाई बोलाएर संविधानमा ‘सात बुँदे’ संशोधन नभएसम्म सीमा नाकाबन्दी खुल्दैन भनि केही मिडियामा आएको खबरमा सत्यता नभएको उपाध्यायले बताए।
भारतीय विदेश मन्त्रालयका अधिकारीले राजदूत उपाध्यायलाई सोमबार बोलाएर ‘तिमीहरू आकाशबाट ल्याउँछौ कि पातलाबाट तेल ल्याउँछौ ल्याउँ तर, संविधानमा सातबुदे संशोधन नभएसम्म भारतले नाकाबन्दी खोल्दैन। यो नै हाम्रो राजनीतिक नेतृत्वको निर्णय हो,’ भनेको केही नेपाली मिडियाले प्रकाशन/प्रशारण गरेका थिए।