थरुहट/थारुवान संघर्ष समितिले हाल गर्दै आएको आन्दोलन सम्बन्धमा उक्त समूह भित्र विवाद देखिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै थरुहट/थारुवान संघर्ष समिति दाङले बन्द हड्तालका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको थियो।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति, दाङका प्रवक्ता प्रकाशकुमार चौधरीले सोमबार बेलुकी ५ बजेदेखि यातायात, बजार, सरकारी तथा गैरसरकारी कार्यालय खुल्ला रहन दिने बताए।
तर थरुहट थारुवान संघर्ष समितिका नेता राजकुमार लेखीले हड्ताल फिर्ता लिएको भन्ने समाचारको खण्डन गरेका छन्।
लेखीले भने, 'यसमा राजनीति भयो, एमालेले चलखेल गरिरहेको छ। हामीले आन्दोलन फिर्ता लिएका छैनौं।' उनले थरुहट/थारुवान आन्दोलनलाई तुहाउने षडयन्त्र सबैतिर भइरहेको बताउँदै आफ्नो आन्दोलन यथावत रहेको तर्क गरे।
'यो मिडिया मार्फत गरिएको राजनीति हो, हामी यसको खण्डन गर्छौं,' उनले भने।