उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरी बलले जनताको हितमा गरेको योगदानले सशस्त्र लोकप्रिय बन्दै छोटो अवधिमै आफ्नो औचित्य प्रमाणित गरी देशको भरपर्दो सुरक्षा निकायको रुपमा स्थापित हुन सफल रहेको बताएका छन्।
सशस्त्र प्रहरी बलमा पहिलोपटक सञ्चालन हुन लागेको ‘कमाण्ड तथा स्टाफ कोर्ष’को आइतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री गौतमले सो कुरा बताएका हुन्।
विश्वका धेरै फौजी संगठनमा व्यावसायिक प्रशिक्षणका लागि उपल्लोस्तरको मानिने ‘कमाण्ड तथा स्टाफ कलेज’ हालै स्थापना भएपछि पहिलोपटक ‘कमाण्ड तथा स्टाफ कोर्ष’ संचालन हुन लागेको हो ।
गौतमले कार्यक्रममा कार्यक्षेत्रमा सशस्त्र प्रहरीले गरेको योगदानले संगठनको उचाई चुलिएको बताउँदै बलले गरेको उत्कृष्ट कार्यले जनता दिन प्रतिदिन सशस्त्र प्रहरीकाे माग बढिरहेकाे चर्चा गरे ।
‘सशस्त्र प्रहरी बलको योगदान अतुलनीय रहेको छ’ उनले भने–‘कानूनी राज्यको अवधारणा बमोजिम शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरी बलको योगदान प्रसंसनीय छ ।’ उनले जनताले सशस्त्र प्रहरी बलको योगदान र त्यागको अपेक्षा गरिरहेको समेत उल्लेख गरेका थिए।
गौतमले भने–‘नागरिकलाई शान्ति सुरक्षाप्रति निश्चिन्त तुल्याउन सशस्त्रले योगदान पुर्याई रहेको छ ।’ उनले हालका दिनहरुमा झैं मानव अधिकारको रक्षा गर्दै पूर्णरुपमा व्यावसायिक भई कार्य गरिरहन बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिए।
त्यसैगरी गृहमन्त्री गौतमले एकिकृत सुरक्षा योजना बमोजिम उत्कृष्ट ढंगले जिम्मेवारी पुरा गरिरहेको सशस्त्र प्रहरीले जनताको जीउधन तथा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगायतका जिम्मेवारी पेशागत ढंगले पुरा गर्न प्रतिवद्ध रहिरहने विश्वास व्यक्त गर्दै संगठन भरपर्दो सुरक्षा निकायको रुपमा स्थापित भएको बताए।
कार्यक्रममा बाेल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले सशस्त्र प्रहरी बलले आफ्नो मध्यमस्तरका अधिकृतहरुमा नेतृत्व विकास गर्ने अभिप्रायले संचालन गर्न लागेको कमाण्ड तथा स्टाफ कोर्ष महत्वपूर्ण आयाम भएको भनाइ राखे ।
यस्तै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले संगठनले करिब एघार महिनाको प्रयासमा स्टाफ कलेज संचालनको स्वीकृती प्राप्त पाएको बताउँदै कलेज स्थापनाका लागि सहयोग पुर्याउने नेपाल सरकार गृह मन्त्रालय, अर्थमन्त्रालय लगायत त्रिभुवन विश्वविद्यालय एवं सहयोगी प्राज्ञिक वर्गमा आभार प्रकट गरे।
सशस्त्र प्रहरी बलमा कमाण्ड तथा स्टाफ कोर्ष संचालनको सुरुवात हुँदा संगठनले गर्व महसुस गरेको उल्लेख गर्दै महानिरीक्षक वन्तले चुनौतीपूर्ण कार्यक्षेत्रमा कार्यदक्षता प्रदर्शन गरी अब्बल सुरक्षा निकायको रुपमा स्थापित हुन सफल रहेको सशस्त्र प्रहरीलाई कलेजले अझै उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
१८ महिना लामाे काेर्षले सशस्त्र प्रहरीलार्इ सैद्धानिक र व्यवहारिक ज्ञान दिनेछ । १८ महिनाकाे काेर्षमा ६/६ महिनाकाे तीन सेमेष्टरमा पढार्इ हुनेछ । उक्त कोर्षमा गत साउनमा त्रिभुवन विश्वविद्यालयबाट लिइएको प्रवेश परिक्षामा उत्तिर्ण भएका कुल १२ जना एपीएफ अधिकृतहरु समावेश रहेका छन् ।