राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधनमा पार्टीले सात दिन शोक मनाउने भएको छ।
कमल थापाको अध्यक्षतामा आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको आकस्मीक बैठकले यस्तो निर्णय गरेको राप्रपा नेपालका सह-प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई बताए।
बैठकले पूर्व संसदीय दलका नेतासमेत रहेका गुरुङ्गको शनिबार राति ८ बजे उपचारका क्रममा अमेरिकाको कोलोराडोमा भएको दुःखद निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ।
राजनीतिक उतारचढावका बिच पनि उनी आफ्नो वैचारिक निष्ठामा सदैव अविचलित, कट्टर राष्ट्रवादी नेता भएको राप्रपा नेपालले जनाएको छ। उनी राजसंस्था र बहुदलीय प्रजातन्त्रप्रतिको आस्थाबाट कहिल्यै विचलित भएनन्। जनताको हित, जनतासँगको निरन्तर सम्बाद र सम्पर्कमा थिए। उनको दुःखद निधनबाट राष्ट्रले एक राष्ट्रवादी एवं जनमुखी नेता गुमाएको राप्रपा नेपालका अध्यक्षल कमल थापाले जनाएका छन्।
राप्रपा नेपालले सदैव क्रियाशील, जुझारु योद्धा र कुशल संगठक गुमाएको उनको ठहर छ। पार्टी स्थापनाको कठिन समयमा उनले दिएको योगदान सदैव अविस्मरणीय रहने थापाले बताए।
स्व. गुरुङ्गको अन्त्येष्ठि वैदिक परम्परा अनुसार पशुपति आर्यघाटमा गर्ने निर्णय गरिएको छ। अन्त्येष्ठिको व्यवस्थापनको लागि उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा कार्य सम्पादन समितिका सदस्यहरु, सवै भातृ संगठनका प्रमुखहरु, उपत्यकाका तिनै जिल्लाका अध्यक्षहरु रहेको समिति गठन गरिएको बैठकमा निर्णय भएको श्रेष्ठले बताए।
सबै कागजी प्रक्रिया पुरा गरेर बुधबारसम्ममा उनको शव नेपाल ल्याइने भएको श्रेष्ठले बताए।
गुरुङ्गको सम्मानमा राप्रपा नेपालको केन्द्रीय कार्यालय र सवै जिल्ला कार्य समितिका कार्यालयहरु २ दिन बन्द गर्ने, ३ दिन पार्टीको झण्डा झुकाईने, कुनै औपचारिक कार्यक्रम नगर्नेसमेत जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय र सवै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिन पछि श्रद्धाञ्जली सभाको आयोजना गरिने राप्रपा नेपालले जनाएको छ।
२०१२ साल माघ ५ गते पञ्चमुल गाविस वडा नं. ८ माझकटेरी, स्याङ्जामा जन्मिएका गुरूङ विद्यार्थी जिवनदेखि नै सामाजिक र राजनीतिमा सक्रिय थिए। गुरुङ्ग नेपाल युवक संगठनको केन्द्रीय सहसचिव (२०३९ देखि २०४३), केन्द्रीय सभापति (२०४३ देखि २०४६) भएका थिए। यस्तै पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यसमेत रहेका गुरूङ २०४६ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष भए।
२०४५ देखि ४६ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य रहेका गुरूङ राप्रपाको संस्थापक सदस्य, केन्द्रीय सदस्य हुन्।
२०६२ सालमा राप्रपा नेपाल गठनमा अग्रणी भूमिका निभाएका गुरूङ २०६४ देखि २०६८ सम्म संविधानसभा सदस्य तथा संसदीय दलको नेतासमेत थिए। हाल महामन्त्री रहेका गुरूङका श्रीमती, एक छोरा र एक छोरी छन्।