संविधानसभाबाट ३ असोजमा संविधान जारी भएपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको चेहरामा खुसी झल्किएन। नेता, सभासद, जनता संविधान जारी भएकोमा दीपावलीमा सहभागी भईरहँदा उनी नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य भेट्न निवासमै पुगे। वैद्यसँग डेढ घण्टा वार्तालाप गरेपछि फर्किए।
त्यसको केही दिनमै उनले एमाओवादी परित्यागको घोषणा गरे। प्रचण्डलाई पत्रचार गरेर। अरूलाई पत्रकार सम्मेलनमार्फत् एमाओवादी छाडेको, गोरखा क्षेत्र नं. १ को सांसद पनि नरहेको भन्दै। उनको दिमागमा एउटै एजेण्डाले ठाउँ लियो, ‘नयाँ शक्तिको आवश्यकता।’ नयाँ आधारमा टेकेर नयाँ शक्तिसहितको पार्टी र संगठनले मात्रै देशलाई आर्थिक समृद्धितर्फ लैजाने उनको दावी छ।
सबैलाई चकित पार्दै उनी एमाओवादीबाट एक्लै निस्किए। साधारण सदस्यबाट दिएको राजीनामा प्रचण्डले स्वीकृत गरेका छैनन्। सभामुख सुवासचन्द्र नेम्वाङले पनि भट्टराईले ब्यबस्थापिका संसदको सांसदबाट दिएको राजीनामा स्वीकृत गरेनन्। राजीनामा स्वीकृत नभएपनि भट्टराईले नयाँ शक्तिको आवश्यकता पूर्ति गर्न मधेश–पहाड दौडाह सुरु गरिसके।
असोज ११ गते मंगलबार जनकपुर पुगेर उनले आफूले संबिधानमा हस्ताक्षर गरेपनि चित्त नबुझेको गुनासो पोखे। जनताको भावना बुझेर प्रतिक्रिया दिन खप्पिस भट्टराईले आफू आन्दोलनकारी नभएको बताउँदै सहजकर्ता भएको भन्न भ्याए। साथै उनले पहाडी नेताले मधेशी समुदायको मागलाई ध्यान नदिएकोमा दुःख जनाए।
जनकपुरबाट काठमाण्डौं फर्केका भट्टराईले शनिबार गृह जिल्ला गोरखा आएर संबिधान जारी भएकोमा आफू हर्षित भएको भन्न छुटाएनन्। ‘संबिधानसभाबाट संबिधान जारी गर्ने मेरो एजेण्डा पूरा भएकोमा म हर्षित हुँ। खुसी छु' उनले भने, ‘संबिधानमा लेखिएका अक्षरहरुबारे कि मलाई थाह छ, कि त कांग्रेसका कृष्ण सिटौलालाई।' भट्टराई संबिधान निर्माण सुरु गर्दा देखिका साक्षी हुन्। उनी सभापति रहेको राजनीतिक संबाद तथा सहमतिले दलहरु बीच बषौँदेखि बिबाद रहेका बिषयमा सहमति खोजेकै हो।
भट्टराईले एमाओबादीको साधारण सदस्यसमेत त्यागेपछि गोरखाबासी खुसी छैनन्। झन् गत संबिधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट जितेका उनले राजीनामा दिएपछि मतदाता निराश देखिन्छन्। भट्टराईले एमाओबादी छाडेको समाचारमा सुनेको बताउँदै बराहकी एक बृद्धाले भट्टराईसँगको भेटमा गुनासो पोखिन्, ‘माओबादी छाडेको हो? हामीलाई छाडेको हो? समाचारले त्यही भन्यो के यो साँचो हो?' गोरखाबासीलाई आफूले सधै माया गर्दै आएको भट्टराईले जवाफ फर्काए।
भट्टराईले हस्ताक्षर गरेको निमन्त्रणा पत्रमा संबिधान जारी भएकोमा खुसी साँटासाँट गर्ने, चियापान गर्ने भनिएपनि कार्यक्रममा नयाँ शक्ति निर्माणको औचित्यबारे कुराकानी गरियो। मञ्चमा एमाओवादी नेतृ हिसीया यमी, छोरी मानुषीसँगै रहेका भट्टराईले देशमा नयाँ शक्तिको आवश्यकता रहेकाले परम्परागत पार्टी एमाओवादी छाडेको बताए। यमी अहिले पनि एमाओबादी मै छिन्।
कांग्रेस, एमाले, पूराना माओबादी, स्वतन्त्र ब्यक्तिहरु, बिज्ञ सहभागी गराएर नयाँ शक्ति निर्माणबारे छलफल गर्ने भनिएपनि बषौँदेखि भट्टराई बिचार समूहमा हिडेका माओबादीहरुको उल्लेख्य सहभागिता थियो। भट्टराईलाई पत्रकार सम्मेलनमा पत्रकार किशोरजङ्ग थापाले प्रश्न गरे, ‘सबै मान्छे पूराना देखिन्छन्। कसरी नयाँ शक्ति निर्माण हुन्छ?' भट्टराईले उत्तर दिए, ‘मान्छे नयाँ आउने होइन। उसको बिचार नयाँ हुने हो। बिचार परिवर्तन गर्ने हो।'
भट्टराईले नयाँ शक्तिको सांगठानिक सुरुवात र बिस्तार कहिलेदेखि गर्ने भन्नेबारे खुलाउन सकेनन्। उनले एमाओबादी नछाडेको बेला नयाँ शक्तिको आवश्यकता छ भनेझैं गरेका कुरा र अहिले पनि त्यस्तै कुरा गरिरहेका छन्। नयाँ पार्टी निर्माणको खाका, दर्शन, दृष्टिकोणबारे उनी प्रष्ट खुलाउन चाहदैनन्। एमाओबादी छाडेपछि भारतीय नेतासंग कुराकानी भएको छ कि छैन? पत्रकार किरण लोहनीको प्रश्नमा उत्तर दिँदै भट्टराईले राजदूत रञ्जित रे, चिनिया राजदूतसंग कुराकानी भएकोबारे खुलाए। उनीहरुले के भने भन्ने प्रश्नमा भट्टराई हाँसे, उत्तर दिएनन्।
प्रचण्डसंगको सम्बन्धबारे उनले सहयोगीको संज्ञा दिए। पार्टी परित्यागपछि पनि प्रचण्डसंग टेलिफोन सम्पर्क हुने गरेको उनको भनाइ छ। तर, अब एमाओबादीमा फर्केर जान नसकिने उनले पटक–पटक दोहोर्याए। भट्टराईले एमाओबादी पार्टी कार्यकर्ता, जेष्ठ नागरिक, शिक्षक, निर्माण ब्यबसायी, यातायात ब्यबसायी, उद्योगी, ब्यबसायीसंग छुट्टाछुट्टै भेटघाट गरेका छन्।
राजनीतिबाट पलायन नहुने बताउँदै भट्टराईले बाख्रापालन आफ्नो जीवन निर्वाहका लागि भएको बताउँदै आर्थिक क्रान्ति गर्नुपर्ने बताए। अधिकांश मानिसहरुसंग भेटघाट गरेपछि भट्टराईले प्रतिक्रिया दिँदै भने, ‘एमाओबादी छाडेकोमा जिल्लाबासीमा खिन्नता छ। किन छाडेको हो भन्नेबारे जिज्ञासा रहेछ।'
उनले मधेशी समुदायको, थारु समुदायको आन्दोलनप्रति समर्थन जनाउँदै आन्दोलन जायज भएको पनि बताए। भारतीयहरुको इशारामा चल्ने गरेको आरोप खेपेका भट्टराईले भारतले नाकाबन्दी गरेर गलत हर्कत देखाएको भन्दै कुटनीतिक तवरबाट दुई देशबीचको कुराहरु मिलाउन सकिनेमा जोड दिएका छन्।
नयाँ सरकार गठनसंगै राजनीतिको फोहोरी खेल सुरु हुने उनको शंका छ। राजनीतिक, पूँजीबादी क्रात्किो लागि नयाँ शक्तिको आवश्यकता परेकाले उनी अहिले जिल्ला दौदाहमा छन्। ‘जनकपुर गएँ। भोलि भैरहवा, पाल्पा हुँदै कैलालीसम्म पुग्ने कार्यक्रम छ।' पश्चिममा शेरबहादुर देउवा र भीम रावल, पूर्वमा केपी ओली र कृष्ण सिटौलाले आफ्नो अडान नछाड्दा सिमाङ्कन बिबाद भएको उनको भनाइ छ।