प्रमुख तीन दलको बैठकले मधेशी मोर्चासँग सहमति भएमा समावेशी समानुपातिक र निवार्चान क्षेत्र निर्धारणको माग संविधान संशोधन मार्फत तत्काल पुरा गर्न सकिने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमाङ्कनमा देखिएको विवाद राजनीतिक सहमति मार्फत टुङ्ग्याउने निष्कर्ष निकालिएको छ।
वार्ता टोलिको सदस्य एवम एमाले नेता अग्नी खरेलले सेतोपाटीसँग भने, 'उहाँहरुको मागलाई संविधान संशोधन मार्फत संवोधन गर्ने संविधान सभाकै निर्णय हो। हामी त्यसका लागि तयार छौं।'
मुख्य तीन दल कांग्रेस, एमाले र एमाओवादी एउटा जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र हुने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न र समावेशी समानुपातिकको विषय संविधान संशोधन मार्फत् सम्बोधन गर्न तयार रहेको उनले बताए। उनले भने, 'सीमाङ्कनको विषय पनि राजनैतिक सहमतिपछि सम्बोधन गर्ने भनिएकै हो। उहाँहरु तयार भएपछि संविधान संशोधन गर्न सकिन्छ। तर त्यसका लागि उहाँहरु(आन्दोलनरत मधेशवादी दलहरु) तयार हुनुपर्यो।'
यी विषयमा अहिले केहीबेरमा तराईमधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल हुने उनले जानकारी दिए। ठाकूरसँग तीन दलले गठन गरेको वार्ता टोलिले तमलोपाको पार्टी कार्यालय बिजुलीबजारमा छलफल गर्ने छ।