नेपाल सद्भावान पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दलका नेताहरूलाई मधेस आउन चुनौती दिएका छन्।
वीरगन्ज रक्सौल सीमामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दिएको धर्ना कार्यक्रममा बोल्दै नेता महतोले यस्तो चुनौती दिएका हुन्। सत्ताको भागबन्डाको लागि दुई तिहाइको दम्भमा बनाइएको संविधान मधेस, थारू र जनजाती विरोधी भएको दावी गर्दै तीन दलका नेताहरू संविधानलाई मधेसमा लागू गराएर देखाउन चुनौती दिएका हुन्।
दशगजामा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘बोलीको गोली ठोक्ने ओली लगायत तीनै दलका नेताको हिम्मत छ भने मधेस आउन म चुनौती दिन्छु, आएर देखाउ, छैन भने मधेसका आफ्ना सभासदलाई पठाऊ, मधेसी जनता खोजिरहेका छन्।’
उनले भारत नेपालबीचको सम्बन्ध प्राकृतिक र अद्धितीय भएको बताउँदै त्यसलाई तोड्ने वा खलल हाल्न खोज्ने आफैं समाप्त भएर जाने दाबी गरे। नेता महतोले ४० दिनको बन्दीमा मधेस जल्दा बहिरो बसेको राजधानीको दाना पानी बन्द गर्नको लागि सीमामा नाका बन्दी मोर्चाले गरेको ठोकुवा गरे।
आन्दोलनलाई बदनाम गराउन नाकाबन्दीलाई भारतसँग जोडेर प्रचार बाजी गरिएको खन्डन गर्दै उनले माग पुरा नभएसम्म नाकाबन्दी जारी रहने बताए। मधेस आन्दोन र नाकाबन्दीलाई अझ सशक्त बनाउन थारू र सबै मधेसी दलहरू बीच बृहद मोर्चाको त्यारी भइरहेको बताउँदै साझा अवधारणा बनाएर छिटै एक साथ हुने नेता महतोको भनाइ रहेको थियो।