सिमावर्ती जोगबनी नाकामा भारतीय पक्षद्धारा गरिएको ‘अघोषित नाकाबन्दी'लाई थप मजबुत पार्न मधेसकेन्द्रित दल सक्रिय हुन थालेका छन्। बिहीबारबाट भारत पक्षले अघोषित नाकाबन्दी गर्दा जोगबनीमा धर्नामा बस्न तराई मधेस लोकान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयेश त्रिपाठी पुगेका थिए।
शुक्रबार मुस्लिम समुदायको बरकइद परेको दिन सिमावर्ती क्षेत्रमा आन्दोलनकारी थिएनन्। शनिबार पनि सिमावर्ती क्षेत्रमा मधेसकेन्द्रित दलका आन्दोलनकारीको भीड देखिएन।
आइतबार सिमावर्ती क्षेत्रमा धर्नामा बस्ने कार्यक्रम ती दलले राखेका छन्। जसको नेतृत्व संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्नेछन्। एकाविहानै राखिएको उक्त कार्यक्रममा सयौं कार्यकर्ता उतार्ने योजना छ।
स्रोतका अनुसार आइतबार विहान ८ बजे यादवसहितको समूह जोगबनी नाकामा धर्नामा बस्न जाँदैछ। भन्सार नाकाहरूमा कडाइ गर्ने मधेसकेन्द्रित दलको निर्णय थियो। यादव शनिबार विहानै सुनसरी हुँदै विराटनगर आइपुगेका थिए।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा शनिबार यहाँ र्यालीपछि महावीर चोकमा आमसभा भयो। आमसभाको उद्घोषण गरेका नेता जयराम यादवले आइतबार विहान ८ बजे जोगबनी नाकामा धर्नाका लागि जान अपील गरे।
सभाका प्रमुख वक्ता संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमतिअनुसार तराईमा छुट्टै राज्य, छुट्टै प्रशासन, प्रहरी, सेना भएपछि मात्र मधेसको माग पूरा हुने बताए। ‘हामीले उठाएका यी मुद्दा पूरा गर्ने विगतमा सहमति भएको थियो, तर अहिले संविधान निर्माण हुँदा केही पनि सम्बोधन भएन,' सयौं कार्यकर्तामाझ यादवले भने, ‘त्यसैले यो संविधान प्रतिगमनकारी हो।'
यादवले मधेसमा चर्किइरहेको आन्दोलन पहाड, मधेसको नभएर त्यहाँ बसोबास गर्ने आदिवासी, जनजाति, मधेसी र उत्पीडित जनताको अधिकारका निम्ति भएको बताए। ‘अहिले बनेको संविधान खस र आर्यको मात्र हो,' यादवले भने, ‘यो प्रतिगमनकारी संविधानविरूद्धको आन्दोलन चर्किरहनेछ।'
यादवले अहिले बनेको संविधान ४/५ भाइ बाहुन र खसको मात्र भएको दाबी गरे। ‘यो संविधान कोइराला, ओली, खनाल र औडेल–पौडेलको स्वार्थको संविधान हो,' यादवले भने, ‘यी ४/५ भाइको उन्नति गर्न बनेको संविधानले तराई, पहाड र हिमालका आदिवासी, जनजाति, मधेसी, उत्पीडित र दलितवर्गको उत्थान गर्न सक्दैन।'
उक्त आमसभामा मधेसवादी नेताका साथै संघीय लिम्बुवान राष्ट्रिय पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले पनि सम्बोधन गरे। उनले ‘यो सबै काला अनुहारहरू भएको ठाउँमा गोरो अनुहारको को आयो होला भनेर छक्क पर्नुभयो होला' भन्दै भाषण थालेका थिए।
पालुङ्वाले लिम्बुवानको आधार मधेस र मधेसको आधार लिम्बुवान मानेर आन्दोलन थाल्नुपर्ने बताए। उनले भने, ‘कथित ब्राह्मणवादीले सहमति गरेर ल्याएको संविधान मान्दैनौं भन्दा हामीलाई राज्यले गोली ठोक्न लगाएको छ, यो दमक नरोकिए र बढिरहे मधेस र पहाडका मधेसी आदिवासी, जनजाति जनताले नागरिक त्याग्नेछन्।'