प्रधानमन्त्री शुसील कोइरालाले राष्ट्रियता र स्वाधीनताको सवालमा खुट्टा नकमाउने बताएका छन्।
भैरहवामा राजनैतिक दलका स्थानीय नेता, पत्रकार र उद्योगी व्यवसायीसँग शनिबार अन्तरक्रिया गर्दै उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, मुलुकको अखण्डतामा आँच पुग्ने गरी कुनैपनि खालको सम्झौता हुँदैन।’
अहिलेको संबिधान सम्झौताको संबिधान भएकाले सबैलाई स्वीकार्न उनले आग्रह गरे। ‘७० वर्षको पर्खाईपछि आएको यो संविधान सबैको सम्झौताको संविधान भएकोले एउटै समुदाय र दलका मागहरू हुवहु राख्न सकिदैन, सबैले राखेका जायज मागहरु संविधान शंसोधन गरेर पनि संवोधन गर्न सकिन्छ यसैले यसलाई सबैलाई स्वीकार्नु पर्दछ,’ प्रधानमन्त्री कोईरालाको भनाई थियो।
नेपालमा कसैले कल्पना नगरेको परिवर्तन भएकोले यो परिवर्तनलाई सकारात्मक रुपमा लिनुपर्ने प्रधानमन्त्री कोईरालाले बताए। नेपाली एक नभएको फाईदा अरुले उठाउने भएकाले सबै दलहरु एक भएर अगाडि बढ्नुको बिकल्प नभएको उनले बताए।
भारतीय पक्षबाट भएको अवरोधका बिषयमा कुराकानी भैरहेको र मधेशी दलहरुका विचमा पनि वार्ताबाटै समाधान निस्कनेमा आफू बिश्वस्त रहेको बताए।
प्रधानमन्त्री कोईरालाले मधेशका धेरैजसो मागहरू संविधानमा संबोधन गरिएको उल्लेख गर्दै अन्य जायज मागहरुपनि संबोधन हुने बताए। उनले वार्ताको माध्यमबाट जायज मागहरु संबोधन गर्न सकिने बताउँदै संविधान कार्यान्वयनमा सबैको सहयोगको आवश्यकता रहेको बताए।
भारतले गरेको अघोषित नाकाबन्दीप्रति संकेत गर्दै प्रधानमन्त्री कोईरालाले एक्काइसौं शताब्दीमा कसैलाई सानो देखेर नहेप्न आग्रह गरे। ‘अहिले अघोषित नाकाबन्दी छ, अरु मालसमान नछाडेर केरा मात्रै यता पठाइएको छ, साच्चिकै नाकाबन्दी गर्न चाहेको हो भने भारतले ख्याल गरोस्, नाकाबन्दीको असर नेपाललाई मात्रै नभई भारतलाई पनि हुनेछ।’
प्रधानमन्त्रीसँगको अन्तरक्रियामा सभासद अब्दुल रज्जाक, भरत शाह, एमाले केन्द्रीय सदस्य लिला गिरी, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल लगायतले बोल्दै मधेसको राजनैतिक समस्या समाधानको नाममा भारतसंग अनावश्यक ढंगले नझुक्न आग्रह गर्दै भारतसंगको सम्बन्ध प्रष्ट र पारदर्शी बनाउन सुझाव दिए।
राजनैतिक दल र उद्योगी व्यवसायीसंगको अन्तरक्रिया अघि प्रधानमन्त्रीले स्थानीय सुरक्षा निकायका प्रमुखसंग शान्ति सुरक्षाको अवस्था बारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसगैं वनमन्त्री महेश आचार्य, कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, प्रधानसेनापति राजेन्द्र क्षेत्री, आइजीपी उपेन्द्रकान्त अर्याल पनि भैरहवा आएका थिए। कैलाली पुगेर भैरहवा आएका प्रधानमन्त्रीको टोली नवलपरासी पुगेर राजधानी फर्किएको छ।
सो अवसरमा बेथरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका परिवारका सदस्यहरुले प्रधानमन्त्री कोईरालालाई भेटेका थिए। उनीहरूले मृतकलाई शहिद घोषणसँगै अन्य सुबिधाहरु उपलब्ध गराउन माग गरेका थिए।