पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी छोडेको घोषणा अस्वभाविक भनेको छ। बाबुराम भट्टराई शनिबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा पछि पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छलफल हुने अवस्था विद्यमान हुँदाहुँदै एकाएक पार्टी परित्यागको घोषणा गर्नु अस्वभाविक विषय हो।’
‘संविधान सभाबाट संविधान घोषणा भइसके पछि देशमा उत्पन्न असहज अवस्थामा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्नेमा झन पार्टी परित्याग गर्नुले पार्टीलाई गम्भीर बनाएको छ। पछिलो समयमा क. अध्यक्षसंग समग्र परिस्थिति बारे पटक–पटक उहाँसंग सौहार्द वातावरणमा छलफल हुँदै आएको थियो। छलफलकै माध्यमबाट सवै समस्याको समाधान हुनसक्ने कुरा सुनिश्चित छँदाछँदै के.स. बैठकको पूर्व सन्ध्यमा पार्टी परित्याग गर्नु स्वभाविक देखिदैन,’ विज्ञप्तिमा भनिएको छ।
भट्टराईले सबै तह र साधारण सदस्य तथा व्यवस्थापिका–संसद सदस्य पदबाट समेत आजकै मितिबाट लागुहुने गरी परित्याग गरेको सार्वजनिक घोषणाले हाम्रो पार्टी आश्चर्यमा परेको विज्ञप्तिमा उल्लेख छ।
‘बाबुराम भट्टराई समेत पदाधिकारीहरुको वैठकको निर्णय अनुसार भोलि असोज १० गते केन्द्रीय समितिको वैठक बोलाइएको र वर्तमान राजनीतिक परिस्थितिको सम्पूर्ण समीक्षा र अन्य विषयमा समेत के.स. बैठकमा छलफल हुने अवस्था विद्यमान हुँदाहुँदै एकाएक पार्टी परित्यागको घोषणा गर्नु अस्वभाविक विषय बनेको छ’, विज्ञप्तिमा भनिएको छ।