भनिन्छ एकै दाबमा दुई खुकुरी अट्दैनन्। त्यस्तै दुई खुकुरी हुन माओवादी पार्टी भित्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई।
लामो समयदेखि बाबुराम र प्रचण्ड एक अर्काका परिपुरक थिए। प्रचण्डको नेतृत्व क्षमता र भट्टराईको कार्यनीति। शक्ति संघर्ष र व्यक्तित्व टकरावका बिच एक अर्काको आवश्यकता बनेर दुवै एकै पार्टीमा रहे। करिब २४ बर्ष सम्मको लामो सहकार्य र संघर्ष पश्चात यी दुई राजनीतिक खेलाडी अलग्गिएका छन्।
२०४८ सालमा सानो कम्युनिष्ट घटकबाट अलग भइ प्रचण्ड नेतृत्वको कम्युनिस्ट पार्टीमा चक्कुका रुपमा प्रवेश गरेका थिए बाबुराम। बौद्धिक छबी भएका बाबुरामलाई पार्टीमा ल्याउँदा मख्ख बनेका प्रचण्डले उनलाई अन्य बरिष्ठ नेताभन्दा पनि ठूलो जिम्मेवारी दिएर पार्टीमा राखेका थिए।
यसले उनको महत्वकांक्षा बढायो र युद्वकालदेखि नै खुकुरी बन्ने रहर बाबुराममा पलाउन थाल्यो।तर, प्रचण्डले उनलाई पार्टी भित्र खुम्च्याएर नै राखे।
पार्टी खुला राजनीतिमा प्रवेश गरिसकेपछि खुकुरी बन्नका निम्ति नयाँ सम्भावनाको ढोका खुल्यो।
उनको शक्ति भनेको पार्टी भित्र नभई पार्टी बाहिर छ। त्यसैले भनिन्छ बाबुराम पार्टी बाहिर अर्को पार्टी चलाउँछन्। त्यसको प्रयोग गर्दै र राजनीतिका अन्य शस्त्र प्रयोग गर्दै उनी पार्टीका तर्फबाट प्रधानमन्त्री समेत बने।
तर, उनी सफल प्रधानमन्त्रीका रुपमा स्थापित हुन भने सकेनन्। पार्टी बाहिर रहेको उनको पार्टी कमजोर भयो। अर्थात पार्टी वाहिर धेरैले आशा गरेका बाबुराम कमजोर भए l पार्टी भित्र प्रचण्ड नै हाबी भए।
त्यसपछि उनी लागे ‘नयाँ शक्ति’ को बहस तर्फ। सही मौकाको पर्खाइमा थिए, बाबुराम। त्यसैले बाबुराम पार्टीमा नअटाउने अड्कल बाजी धेरैले गरे।
संविधान निर्माण प्रक्रियाको समाप्ति, तराई-मधेशमा आन्दोलन र भारतीय नाकाबन्दीले ल्याएको समस्याकै बिच उनले नयाँ राजनीतिक बाटो निर्माण गर्ने निर्णय गरे। पार्टी भित्र र बाहिर सबै आश्चर्यमा परे।
आफै संवाद समितिका सभापतिसमेत रहेका र संविधानमा हस्ताक्षरसमेत गरेका बाबुरामले संविधान लागू नहुँदै किन पार्टीबाट अलग्गिए उनी ?
पार्टी नेताहरूका अनुसार पार्टी परित्याग गर्ने र नयाँ पार्टी निर्माण गर्ने बाबुरामको योजना भने पछिल्ला दुई दिनको राजनीतिक घटनाक्रमको विकास हो।
बिहिबार प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकमा असोज १० गते केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरी बाबुराम बिदा भए। त्यस पछी फर्केनन् बाबुराम।
‘प्रचण्ड आँफै आश्चर्य चकित हुनुहुन्छ। पत्रकार सम्मेलनको केहि मिनेट अघि मात्र उहाँले पार्टी परित्याग गर्ने खबर पठाउनु भयो,’ पार्टी नेता शक्ति बस्नेतले भने– ‘यस्तो निर्णयमा पुग्नु आश्चर्य र अस्वाभाविक हो।’
संविधान निर्माण भइसकेको अवस्थामा ‘आपत्तिजनक’ अभिव्यक्ति बाहिर दिएको भन्दै पार्टीमा उनको आलोचना भएको थियो।
संविधान निर्माणमा ठूलै बिमति भए संवाद समितिमा सभापतिको हैसियतले संविधान निर्माण रोक्न सकिने थियो। तर, संविधानमा हस्ताक्षर गरि सकेपछी यसको विरोध गर्नु आपत्तिजनक भएको प्रचण्डको भनाइ छ।
उनी नयाँ संविधानका लागि स्वागत गर्न आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएनन्।
पछिल्लो समयमा प्रचण्ड, सुशील कोइराला र केपी ओलीको ‘राष्ट्रवादी’ गठबन्धनबाट आफू बाहिरिएको गुनासो पनि भट्टराईको थियो।
‘विमति होला। पार्टी त्याग्ने निर्णय भने पछिल्ला दुई दिनको घटना क्रमकै उपज हो,’ बस्नेत भन्छन्।
मधेसको आन्दोलन चर्किएसँगै रामचन्द्र झा, रामकुमार शर्मा, प्रभु साह लगायतका मधेसी नेताले २-३ दिन अगाडि भट्टराईलाई भेटेका थिए। उनीहरूले भट्टराईलाई पार्टी छोडेर नयाँ पार्टी गठन गर्न सुझाएका थिए। भट्टराई र उनकी पत्नी हिसीला यमीको रसिया जाने योजना भएपनि नयाँ पार्टी गठन गर्नका लागि भट्टराईले भ्रमण रद्द गरे।
‘हिसिला रसिया मै हुुनुहुन्छ। प्रचण्ड नेतृत्वको पार्टी काम नलाग्ने र साथीहरूले पार्टी छोड्ने निर्णय गरेपछि भट्टराईले भ्रमण रद्द गर्नु भएको थाहा भयो,’ भट्टराई निकट नेता कुमार पौडेलले भने, ‘नयाँ शक्ति निर्माण गर्ने उहाँको पुरानै योजना हो।’
पार्टी भित्र बाबुरामको गुठमा ८-१० जना संसद र दुई दर्जन जतिको केन्द्रीय सदस्य छन्। उनी निकट प्रभु साहले मात्र एमाओवादीका तर्फबाट संविधानसभा बाहिष्कार गरेका थिए।
तर अहिले उनी एक्लै पार्टीबाट बाहिरिएका छन्। उनी निकट नेतालाई समेत उनको कदम थाहा नहुनु पार्टी भित्र अर्को आश्चर्य भएको छ।
‘पहिले निर्णय लिएर अरू सँग सल्लाह गर्ने उहाँको पुरानै शैली हो,’ पार्टी नेता राम कार्की भन्छन्,‘तर पार्टी अध्यक्ष प्रचण्ड र अत्यन्तै निकट नेतालाई समेत कुनै जानकारी नदिइ पार्टी परित्यागको घोषणा गर्नु भनेको आश्चर्य नै हो।’
अहिले भइरहेको उथलपुथल र राजनीतिक आश्चर्यका बिच नै उनले पार्टी काम नलाग्ने भएको घोषणा गर्दै नयाँ शक्ति निर्माणमा लाग्ने बताएका छन्। उनले भने - “तरकारी काट्न चाहने साधन चक्कुले खसी काट्न सकिदैन् त्यसका लागि खुकुरी चाहिन्छ।”
नेपालमा जातीय क्षेत्रिय लैंगिक समानता स्थापित हुनुपर्छ भन्ने भट्टराईको पुरानै नीति हो। जातीय स्वायत्तताको संघिय राज्य घोषणा गर्ने नीति पनि बाबुरामले नै बनाएका हुन । शाही सत्ताको पतन पश्चात यही जातीय राजनीतिको वरिपरी नै देश घुम्दै छ। तराई-मधेस र पहाडबीच ठूलो खाडल निर्माण भएको छ। यही ध्रुब्रिकृत र असहज भू-राजनीतिक अवस्थामा उनी पार्टीबाट बाहिरिए। नयाँ राजनीतिक भविष्य कोर्न।
उनले यो ‘मौका’लाई कसरी सदुपयोग गर्लान् थाहा पाउन धेरै कुर्नुपर्ने छैन।