संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री सुशील कोइरालाले पक्राउ पर्ने डरले राष्ट्रसंघीय महासभा जाने कार्यक्रम रद्द गरेको दाबी गरेका छन्। अध्यक्ष यादवले तराईमा ४३ जना निहत्था जनताको हत्या भएको विषयमा राष्ट्रसंघ प्रधानमन्त्रीसँग रुष्ट रहेको दाबी पनि गरे।
‘सुशील कोइराला पक्राउ पर्ने डरले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क नगएका हुन्,' शनिबार आफ्नै निवास विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘तराई मधेशको आन्दोलनमा घोर मानव अधिकारको उल्लंघन गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोलीबाट ४३ जना निहत्था जनताको ज्यान गएका कारण अन्तराष्ट्रिय समुदाय प्रधानमन्त्रीप्रति रुष्ट छ।'
हाल मधेशमा अधिकारका लागि भइरहेको आन्दोलनप्रति राज्यले प्रहरी र सेना लगाएर गरिरहेको ‘दमन'लाई संयुक्त राष्ट्रसंघीय उच्च मानवअधिकार आयोगले गम्भीरतापूर्वक लिएको पनि उनले बताए। ‘मधेशमा गरेको नरसंघारविरुद्ध
सर्वोच्च अदालत र अन्तराष्ट्रिय फौजदारी अदालतमा मुद्धा दायर गर्न लागेका छौं,' उनले भने, ‘छोरीको बिहेको जस्तो कार्ड पठाएर वार्ता हुँदैन।'
अध्यक्ष यादवले मधेसी र मधेशको मुद्दालाई बेवास्था गरेका कारण तेस्रो चरणको आन्दोलनमा आफूहरू जान बाध्य भएको बताए। उनले अहिले चलिरहेको आन्दोलन मधेस मुक्तिको लागि भइरहेको बताए। ‘माग सम्बोधन नभएसम्म राजमार्ग र बोर्डर केन्द्रित आन्दोलन जारी रहन्छ,' यादवले भने, ‘त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा सरकारले लिनुपर्छ।'
उनले मधेशको समस्या आन्तरिक भएकाले आन्तरिक रुपमा नै सुल्झाउनु पर्ने बताए। ‘सरकारका केही मन्त्री र ठूला दलका नेताहरूले आन्दोलनलाई भारतसँग जोडेर मुर्खता प्रदर्शन गरिरहेका छन्,' यादवले भने। यादवले मधेश आन्दोलनप्रति छिमेकी देश भारत र चीनलगायत विश्वका अमेरिका, युनाइटेड नेशन लगायतका मुलुकहरूको समर्थन रहेको समेत बताए।
राज्यले आफूहरूसँग गरेको २२ बुँदे र ८ बुँदे सम्झैता कार्यान्यन, सेना फिर्ता, मृतकलाई सहिद घोषणा, क्षतिपूर्ति र मृतक परिवारका सदस्यलाई शिक्षा, रोजगारी ग्यारेन्टी नगरेसम्म मधेसी मोर्चा वार्तामा नबस्ने बताए।