विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्ने मालबाहक सवारीसाधन दोस्रो दिन पनि भित्रिन पाएनन्। भारतीय भन्सार कार्यालयबाट जाँचपास बन्द भएपछि भारत तथा तेस्रो मुलुकबाट आएका मालबाहक सवारी रोकिएका हुन्।
भारतबाट नेपाल छिर्ने मालबाहक सवारीसाधन चाहिँ नआउने तर नेपालबाट भारत जाने सवारीलाई भने रोक छैन। विराटनगर भन्सार कार्यालयका अनुसार नेपालबाट फर्केका खाली सवारी तथा मालबाहक सवारी निरन्तर गइरहेका छन्।
भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार बिहीबार ८/१० वटा मालबाहक सवारी गए भने शुक्रबार विहान डेढ सय खाली सवारी भारत छिरे। ‘समस्या यही नै छ, पारिबाट आउँदैनन्, यताबाट जानेलाई रोक छैन,' बस्नेतले सेतोपाटीसँग भने, ‘असुरक्षा छ, आउन सकिँदैन भन्नेमात्र जवाफ आउँछ अहिलेसम्म।'
नेपालमा आएर अनलोड भइसकेका खाली सवारीलाई बिहीबार राति प्रहरीले स्कर्टिङ गरेर भन्सार पुर्याएको थियो। ती सवारी शुक्रबार विहानै भारततिर छिरेका थिए।
जाँचपास बन्द भएपछि विराटनगर भन्सार कार्यालयको राजस्व क्रमशः प्रभावित हुन थालेको छ। भन्सार प्रमुख बस्नेतका अनुसार एक दिनमा यो भन्सार कार्यालयको राजस्व लक्ष्य ५ करोड १७ लाख हो। भारत तथा तेस्रो मुलुकबाट आएका मालबाहक सवारी बिहीबार र शुक्रबार दुबै दिन एउटा पनि जाँचपास भएनन्।
यो महिनामा राजस्व लक्ष्य १ अब ५४ करोड थियो। लगातारको बन्द हडतालका कारण यो सातामा मात्र राजस्व रकम ९ करोड ५६ लाख रुपैयाँ कम उठेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीका अनुसार भारतीय भन्सार कार्यालयमा कुरा भइरहेको छ। तर उसले चालकहरू आउन नमानेको र भन्सार एजेन्टले काम नगरेको भन्ने गरेको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजविराजमा सम्पन्न बैठकले भन्सार नाकाहरूमा नाकाबन्दी गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्टदेखि भारतबाट मालबाहक सवारी आउन छोडेका हुन्।
त्यसअघिसम्म भारत तथा तेस्रो मुलुकबाट सामान लिएर आएका सवारी आउँथे। ‘त्यस्ता सवारीसाधनलाई स्कर्टिङ गरेर हामीले गन्तव्यसम्म पुर्याइरहेकै थियौं, कतै तोडफोड र आगजनी भएको खबर छैन,' कार्कीले भने, ‘मोर्चाको बैठकयता भारतबाट आउन छाडे, जोगबनीमा सयौं सवारीको लाइन छ।'
यसैबीच, नेपाल–भारतको कूटनीतिक सम्बन्धबारे बुझेका बुद्धिजीवीले तुरून्तै ‘उच्चस्तर'बाट समाधान नखोजिए नेपालमा ठूलो समस्या निम्तिनेतर्फ ध्यानाकर्षण गराएका छन्। बुद्धिजीवी दुर्गा सुवेदीले भने, ‘यसभन्दा पनि पहिले भारतबाट नाकाबन्दी भएको हो, त्यतिबेला विश्वले आवाज उठाएको थियो। अहिले तुरून्तै नेपाल र भारतको उच्च तहमा वार्ता आवश्यक छ।'
सुवेदीका अनुसार दुबै देशका प्रधानमन्त्रीबीच वार्ता हुने वातावरण तयार गर्नुपर्ने हुन्छ। सुवेदीका अनुसार भारतले अहिले आफूलाई अपमान महसुस गरिरहेको छ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संसद्मा मिलेर संविधान जारी गर्न सुझाव दिएका थिए, संविधान जारी हुने समयमा विषेश दूत नै पठाए,' उनले भने, ‘त्यो बीचमा नेपालबाट शीर्ष नेताहरू भारत गएका थिए, त्यसबेला यो स्थिति आउनेतर्फ चासो राखिएन, त्यसैले अहिले भारतले आफूलाई अपमान महसुुस गरेको छ।'