सिमावर्ती क्षेत्र विराटनगर भन्सारमा अबरोध पुर्याउने किसिमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी बन्न आइपुगेका मधेसी नेताले तराईमा अब निर्णायक आन्दोलन हुने चेतावनी दिएका छन्।
भन्सार परिसरमा बिरोध कार्यक्रममा सहभागी बन्न भारतीय मार्ग हुँदै आइपुगेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष हृदयेश त्रिपाठीले मधेस मुक्तिका निम्ति अब निर्णायक आन्दोलन हुने बताएका हुन्।
नेताद्वयले मधेसी जनताको चाहनाविपरीत सीमाङ्कन भएको, नागरिकता, समानुपातिक प्रतिनिधित्वलगायत मुद्दामा राज्यले उपेक्षा गरेकाले अब आन्दोलनबाटै निकास खोजिने बताए।
‘यो अधिकारको माग हो, कुनै पहाड तथा मधेसका जनताविरूद्ध हामीले आन्दोलन गरेका हैनौं,' ठाकुरले भने, ‘तराईमा रहेका जनतालाई राज्यले नेपालीपनको महसुस हुन दिएको छैन।' उनले विगतमा भएको सहमतिअनुसार मधेसमा छुट्टै मधेस राज्य नदिइएको, छुट्टै प्रशासन र अदालत र स्वायत्तता नदिइएकाले नै आन्दोलन गर्नुपरेको बताए।
‘हामीलाई पीडा महसुस हुन्छ, हामीलाई बिहारी र भारतीय भनिन्छ,' ठाकुरले भने, ‘हामी नेपाली भए पनि त्यस्तो व्यवहार भएको छैन।'
उपाध्यक्ष त्रिपाठीले तराईको मातृभूमिमा ऐतिहासिक लडाइँ हुन लागिरहेको र चाँडै विजय प्राप्त हुने दाबी गरे। त्रिपाठीले अबको आन्दोलन राजमार्ग र भन्सारको नाका भएको बताए। उनले मधेस मुक्तिका लागि दसौं लाख जनता उतार्ने तयारी भइरहेको पनि बताए।
‘असोज १४ गते झापादेखि कञ्चनपुरसम्मको हुलाकी राजमार्गमा दसौं लाख मधेसी जनताको मानव साङ्लो उतार्छौं,' त्रिपाठीले भने, ‘यसले विश्वको ध्यान खिच्नेछ, विजय प्राप्त हुनेछ।'
राजविराजमा भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा सहभागी हुन नेताद्वय ठाकुर र त्रिपाठी जोगबनी नाका हुँदै गएका थिए। फर्किँदा पनि नेताद्वयले यही नाका प्रयोग गरे।