लिम्बुवान संघर्ष समितिले आह्वान गरेको आमहडताल बुधबार फिर्ता लिएको छ। चार दिनयता जारी आमहडताल फिर्तापछि अरुण पूर्वका ९ जिल्लामा पसल तथा यातायात सञ्चालनमा आएका छन्।
प्रमुख तीन राजनीतिक दलसँग चार बुँदे सहमति भएपछि बन्द खुलेको हो। संघीय समाजवादी फोरमका झापा अध्यक्ष धिरेन लावतीले पक्राउ कार्यकर्ता रिहा गर्न पहल गर्ने, तोडफोड भएको लिम्बुवान पार्टीको केन्द्रीय कार्यालयको जिम्मेवारी तीन दलले लिने र क्षतिपूर्तिका लागि पहल गर्नेलगायत सहमति भएको बताए।
'अब आइन्दा झापामा बन्द हडतालका कार्यक्रम कसैले पनि नगर्ने सहमति भएको छ,' उनले भने। लिम्बुवान संघर्ष समितिसँग दमकमा वार्ता भएको थियो।