संविधान निर्माणमा खेलेको भूमिकाले नेपाली राजनीतिको केन्द्रमा फेरि आइपुगेक छन् एमाओवादी अध्यक्ष प्रचण्ड। बिबिसी नेपाली सेवाले उनको अन्तरवार्ता लिएको छ।प्रस्तुत छ अन्तरवार्ताका मुख्य बुँदा:
- संविधान निर्माण प्रकृयाले गति लिएसँगै म मेरो निवास लाजिम्पाट, बालुवाटार र बानेश्वरमात्र आउजाउ गरिररहेको थिए। प्रहरी र सुरक्षा निकायका प्रमुखदेखि मेरै घरका सुरक्षाकर्मीले खतरा छ भनेर मलाई यताउता नजानुस् भन्थे। संविधान पारित भएको दिन बेलुका घर फर्किएपछि गेटबाट छिर्नेबित्तिकै मैले सबैलाई राखेर भने, ‘संविधान आयो अब म मरेपनि फरक पर्दैन।’ त्यसकारण मेरो अब धेरै ठूलो अकांक्षा छैन।
- सैद्धान्तिक परिवर्तन वा जे भएको छ त्यसको मक्सद देशको विकास हो। मलाई अझैं लाग्छ ७/८ वर्ष मैले सक्रिय राजनीति गर्न पनि सक्छु, गर्नु पनि पर्छ। हामीले संविधान बनायौं। नयाँ संरचनाहरु बनेको छ। त्यसको कार्यान्वयन हेर्ने। नयाँ निर्वाचनसम्म जाने। संघीयता, स्थानीय निकाय निर्वचान लगायत संरचनाहरु बनेर विकासको गतिलाई तिव्रता दिने।
- अहिले मेरो दिमागमा कुनै पद छैन। प्रमुख शक्ति मिलेर यो उपलव्धि हासिल भएको छ। यसको कार्यान्वयन गर्न पनि केहि वर्ष हामी मिलेरै अघि जानुपर्छ। म बडो प्रष्टसँग भन्न चाहन्छु अब हाम्रो पार्टी सरकारमा हुन्छ। हमी सरकारमा महत्वपूर्ण जिम्मेवारी साथै हुन्छौं। सरकार संचालनको निम्ति प्रमुख पार्टीहरुको एउटा संरचना हुन पनि जरुरी छ। त्यस्तो संरचना सायद मेरो लागि ठीक हो की भन्ने मलाई लाग्छ।
- बाबुरामजी (बाबुराम भट्टराई)ले नयाँ शक्तिको कुरा धेरै पहिलेदेखि गरिराख्नु भएकै छ। पार्टीनै छाड्ने सत्ताको खेलमा नलाग्ने भन्ने बाबुरामजीको मैले जे बुझेँ तीस वर्षदेखि अहिले पार्टीमा त्यस्तो कुरा गर्नुभएको छैन। बाबुरामजी जस्तो हाइटको नेताले संविधान घोषणा हुने दिन जे बोल्नु भयो त्यस्तो बोल्नु स्वभाविक देखिदैन। यस्तो बोल्नु लेख्नु मलाई लाग्दैन स्भाविक छ।
बाबुरामजी छोडेर कहिँ गएर बाबुरामजीको पनि भलो हुँदैन। यो राष्ट्रको नि भलो हुँदैन। बाबुरामजीमा केहि विशेषता छन् तर म असाध्यै नजिक बसेको हुनाले धेरै जटिल मान्छेको नाम पनि हो बाबुरामजी। जसलाई मैले तीस वर्षदिख झेलेको छु। अर्को कोहि मेरो जति नजिक भएर बाबुरामजीसँग एक वर्ष बसेको हेर्न मन छ मलाई।
- दिल्ली जाँदाखेरि मैले त्यहाँका सबै नेताहरुसँग र भारतीय प्रधानमन्त्री मोदी (नरेन्द्र मोदी)सँग मैले यो कुरा भनेको थिए, ‘हामी असल मित्र हुन् चाहन्छौं तर तपाइँहरुले हामीलाई ‘यस म्यान’ बनाउन खोज्नुभयो भने सरि त्यो सकिदैन। हामीलाई हाम्रै राष्ट्रको बढि माया हुन्छ तपाइँलाई तपाइँकै राष्ट्रको बढि माया हन्छ। फेरि असल मित्रले तपाइँको कन्सर्न संवोधन गर्न सक्छ, यसम्यानले कहिल्यै तपाइँको कन्सर्नको संवोधन गर्न सक्दैन।‘
- मोदीका दूत (जयशंकर) निकै कडा रुपमा प्रस्तु हुनुभएको थियो। तपाइँहरुले सबलाई समेटेर संविधान घोषणा गर्न सक्नुभएन भने हामी समर्थन गर्न सक्दैनौं। हामीले समर्थन नगरेपछि अरु दुनियाँले समर्थन गरेर अर्थ हुँदैन।
मैले यति मात्र भने, ‘तपाइँ यस्तो गंभिर कुरा गर्न तपाइँ की पन्ध्र दिन अगाडि आउनुपर्थ्यो या पन्ध्र दिन पछि आएर भन्नुपर्थ्यो ।’
-अस्ती विदेश सचिव जयशंकर आउँदा खुला बोर्डर भएकाले त्यहाँ गतिबिधि भयो हिंसा भयो भने त्यसको असर युपी बिहारमा हुन्छ त्यसकारण भारतले चासो लिन’पर्छ भनेर भन्नुभयो। उहाँले अलि बढि त्यसमा फोकस गरिराख्नुभयो। मैले एउट शब्द भनेको थिए, ‘तपाइँले बोर्डरको कुरा अलि बढि त गर्नुभयो। त्यसको एउटा कारण त होला तर बोडर हैन ब्रोडर नेपालसँगको संबन्धलाई अलि बढि हेर्नु उचित होला।‘
- मधेसकेन्द्रित दलका नेताले म सँग कोठामा भेट्दा भनेका थिए, ‘तपाइँहरु संविधान बनाउनुस्, हामी अलि अलि आलोचना गर्छौं। हामीले बिरोध गरेनौं भने हाम्रो पोलिटिकल स्पेस कम हुन्छ। उपेन्द्र यादव, राजेन्द्र महतोभन्दा पनि म्याचुअर्ड (परिपक्व) नेताहरुले पनि यसो भन्नुभएको थियो ।’