फाइल फोटो
नयाँ संविधानलाई स्वागत गर्ने मुद्दामा एमाओवादी पार्टी भित्र चर्को विवाद देखा परेकोछ। सोमबार राजधानीको टुँडिखेलमा नयाँ संविधानलाई स्वागत गर्नका निम्ति आयोजित कार्यक्रममा पार्टी नेता बाबुराम भट्टराई अनुपस्थित भए। भट्टराईका सहयोगी विश्वदिप पाण्डेले सेतोपाटीसँग कुरा गर्दै भट्टराईलाई ज्वरो आएको र थाईराइड बढेका कारण कार्यक्रममा जान नसकेको दाबी गरेका थिए।
तर ज्वरोले अस्वस्थ भनिएका भट्टराई आफ्नो निवास सानेपामा पार्टीका विभिन्न समूहसँग दिनभर छलफलमा ब्यस्त रहेको पार्टीका केही नेताले सेतोपाटीलाई जानकारी दिए।नेताहरूका अनुसार भट्टराईले हेमराज भण्डारी, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, नवराज सुवेदी, कल्पना धमला, अमनलाल मोदी, शिवलाल मण्डल लगायत नेताहरूसँग विभिन्न समूहमा आफ्नो गुटको आगामी रणनीति बारे दिनभर छलफल गरेका थिए।
आज किन स्वागत समारोहमा भट्टराई गएनन्? भन्ने प्रश्नमा भट्टराई निकट पार्टी नेता देवेन्द्र पौडेलले भने ‘पार्टीको संस्थागत निर्णय बिना नै संविधानलाई स्वागत गरिएकाले उहाँ नजानु भएको हो। यो राम्रो भएन।’
पौडेलका अनुसार असहमतिका बुँदालाई पार्टीले जनता समक्ष प्रष्ट रुपमा राख्नुपर्ने र त्यसै अनुसार अघि बढ्नुपर्नेमा संविधानलाई पार्टीको संस्थागत निर्णय बिनै स्वागत गर्नू गलत हो भन्ने भट्टराईको विचार थियो।
‘मधेसको मुद्दा सम्बोधन भएको छैन। यस अवस्थामा कसरी संविधानलाई स्वागत गर्न सकिन्छ भन्ने उहाँको विचार हो,’ पौडेलले भने।
दोस्रो, सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालबीच बनेको नयाँ गठबन्धनबाट पनि भट्टराई असन्तुष्ट देखिएको पार्टी नेताहरूको भनाइ छ।
माओवादी जनयुद्वदेखि नै विभिन्न पक्षबीचको वार्तामा प्रमुख भूमिका निर्वाह गर्दै आएका भट्टराई अहिले कोइराला, ओली र दाहालबीच भएको ‘राष्ट्रवादी एकता’ बाट असन्तुष्ट बने।
पार्टी भित्र पनि भारतलाई चिढाएर र तराई-मधेसका मुद्दा सम्बोधन नगरी पार्टी अघि बढ्न नहुने भनाइ राखेका र भारतपरस्त भएको आरोप लागेका भट्टराईको विचारलाई दाहालले ठाडै अस्वीकार गरेका थिए।
गत साता एक बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने ‘हामीले भारतका जायज चिन्ता सम्बोधन गर्ने नै हो। तर भारतले भनेका सबै कुरा मान्नुपर्छ भन्ने छैन। मधेसका माग हाम्रा हुन् र समाधान पनि गर्नुपर्छ। तर संविधान नै नबनाउने कुरा हुन्न।’
तर भट्टराईले भने मधेसका माग सम्बोधन नभए देश नै टुक्रने अभिव्यक्ति पार्टी बैठकमा मात्र होइन सामाजिक सञ्जालमा समेत दिँदै आएका छन्।
गत साता बानेश्वरमा सम्पन्न बैठकमा पार्टीका केही मधेसी नेताहरुले पनि पार्टी संविधान निर्माणमा अघि बढे पार्टी छाड्ने चेतावनी दिएका थिए। उक्त बैठकमा भट्टराई निकट प्रभु साहले पार्टी छाड्ने धम्कि दिएपछि दाहाल निकट शक्ति बस्नेत लगायतका नेताले प्रतिवाद गरेका थिए।
त्यस दिन प्रचण्ड ज्यादै आक्रामक भएर निस्केका थिए। ‘पार्टी छाड्ने भए छाड्नुस्। तर हामी पछि हट्दैनौ,’ दाहाललाई उद्धृत गर्दै एक नेताले भने, ‘तपाइँहरुलाई जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ त्यही गर्नुहोस्।’
भट्टराई निकट साह संविधानसभा बहिस्कार गर्ने एक मात्र एमाओवादी सभासद हुन्।
पार्टीमा जातीय/क्षेत्रीय नीति आफूले निर्माण गरेको भट्टराईको भनाइ छ। ‘विभेद’को मुद्दा पार्टीले छाड्न नहुने भट्टराईको भनाइ छ।
‘अध्यक्ष त्यस दिन अलिकति आक्रामक देखिनु भएको हो। तर यसलाई स्वाभाविक मान्नुपर्छ,’ पार्टी नेता राम कार्कीले भने, ‘संविधान निर्माणका ऐतिहासिक क्षणमा यस्तो हुन सक्छ।’
नेपालमा ‘मार्क्सवादी’ले गर्ने भनेको नै जातीय र क्षेत्रीय समस्याको समाधान हो भन्ने नै भट्टराईको विचार हो।
अब नयाँ राजनीतिक शक्ति निर्माण गरेर अघि बढ्ने विचार पनि भट्टराईले राख्दै आएका छन्।