खोटाङमा बम फेला परेको छ। सदरमुकाम दिक्तेलस्थित उद्योग बाणिज्य संघका अध्यक्ष राजु लयालुको घरमा बम फेला परेको हो। संविधान घोषणा भएको दोस्रो दिन सोमबार बिहान लयालुको घरको बरन्डामा तार जोडिएको प्लाष्टिकको पोका भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।
लयालुको घरमा संकास्पद बस्तु भेटिएपछि केहिबेर प्रहरीले सुरक्षा घेराभित्र संकास्पद बस्तुलाई सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीले बताए। शेर गण मुडेका नेपाली सेनाको डिस्पोजल टोलीले संकास्पद बस्तुको अनुसन्धान गर्दा डेटोनेटर बम रहेको देखिपछि सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गराएको छ।
यता, उद्योग बाणिज्य संघले संकास्पद बस्तु अध्यक्ष लयालुको घरमा फेला परेपछि आकस्मिक बैठक बोलाएको छ। संघले विज्ञप्ति समेत निकाल्ने तयारी गरेको बाणिज्य संघले जनाएको छ।
संविधान घोषणा भएपछि खोटाङमा भएको बन्दको उद्योग बाणिज्य संघले अबज्ञा गरेको भन्दै आफ्नो घरमा बम राखेर आफूहरुलाई त्रसित बनाउन खोजेको अध्यक्ष लयालुको भनाई छ।
आईतबार भएको बन्दको उद्योग वाणिज्य संघले संविधान जारी भएको दिन दिपावली गर्न आग्रह गर्दै बन्द सधैका लागि बन्द गर्नुपर्छ भनेका थिए। अध्यक्ष लयालुले भने—बन्दकर्ताले बजार बन्द गर्दै हिडेपछि संघले बजार खुलाउन बजारबासीलाई आग्रह गरेको हो। संघले बजार खुलाउन आग्रह गरेपछि बन्दकर्ताले बजारमा माईकिङ गर्दै भोलि के–के हुन्छ यसको जिम्मेवार उद्योग बाणिज्य हुनुपर्छ भन्दै बन्दकर्ता हिडेको उनको भनाई छ।
प्रहरीको गस्ती टोली रातभर परिचालन भएको र संकास्पद बस्तु बिहान ३ बजेभन्दा पछाडि राखिएको हुनसक्ने माझिको अनुमान छ। संकास्पद बस्तु भेटिएपछि प्रहरीले नेपाली सेनालाई खबर गरेका थिए।