थारू नेताहरुले राखेका शर्तमा प्रमुख चार दल सकारात्मक देखिएका छन्। बिहीबार साँझ बालुवाटारमा सम्पन्न चारदल सम्मिलित बैठकमा दुबै पक्ष सकारात्मक भएको बैठकमा थारूका तर्फबाट सहभागी फोरम लोकतान्त्रिकका नेता राजजनम चौधरीले सेतोपाटीलाई बताए।
‘प्रधानमन्त्री, प्रचण्ड, केपी ओली, माधव नेपाल, गच्छदार, शेरबहादुर सम्मिलित चार दलसँगको हाम्रो बैठक सकारात्मक रह्यो’, चौधरीले भने,‘हाम्रा पूर्व सर्तमा उनीहरू सकारात्मक छन्, भोलिबाटै कार्यान्वयन गर्ने उनीहरू तयार भए।’
चार दलका नेताहरुले पूर्व शर्त र केही माग शुक्रबार बिहानसम्म कार्यान्यवनको प्रतिवद्धता व्यक्त गरेका छन्।
गिरफ्तार थारु नेता कार्यकर्ताको रिहाई, सेना फिर्ता, कर्फ्यु हटाउने, दंगाग्रस्त क्षेत्र हटाउने धरपकड बन्द गर्नुपर्ने, तीन दलका नेताहरुले शुक्रबार मुद्दा चलाउन लागिएका गिरफ्तार थारु नेताहरुमाथि मुद्दा फिर्तालगायतका सर्तहरू थारू नेताले राखेका थिए।
हाम्रा सातबुँदे पूर्वशर्त पछि मात्र हामी औपचारिक राजनीतिक विषयमा प्रवेश गर्छौ,’ चौधरीले भने, ‘भोलि सकारात्मक निष्कर्षमा पुगिने सम्भावना छ।’
यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको वातावरण बनेकोमा खुसी व्यक्त गर्दै गम्भीर र जायज माग पूरा गराउन जस्तोसुकै भूमिका खेल्न तयार रहेको आश्वासन दिएका थिए।
संविधानका लागि अधिकतम सहमति खोज्न सबैले लचक हुनुपर्ने कोइरालाको जोड थियो।
थारु नेताका अनुसार आफूहरुका माग सम्बोधन भए शुक्रबार हुने संविधानमाथि हस्ताक्षर कार्यक्रममा आफ्ना सभासद्हरु जान सक्नेछन्। संविधानसभामा जम्मा ४२ थारु सभासद् छन्।