भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भोलि (शुक्रबार) काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेश सचिव एस.जयशंकर शुक्रबार बिहान मोदीका दूतका रूपमा काठमाडौं आइपुग्ने कार्यक्रम छ।
नेपालको संविधान निर्माण प्रक्रियामा मधेसी समुदायलाई समेट्नुपर्ने बताउँदै आएको भारतले आफ्नो विशेष दूत काठमाडौं पठाउने भएको हो।
काठमाडौं आएपछि जयशंकरले प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति रामवरण यादवलाई भेट्ने भनिएपनि समय टुंगो नलागेको परारष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले सेतोपाटीलाई बताए।
उनले भने, ‘दुतावासले भेट गर्ने समय मागेको भएपनि निश्चित भएको छैन।’
यसअघि विहीबार अपरान्ह भारतीय प्रधानमन्त्री मोदीले आफ्ना विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव जयंकर र नेपालका लागि भारतीय राजदूत रञ्जित रेसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका थिए।
उक्त छलफलपछि प्रधानमन्त्री मोदीले आफ्ना दूतलाई काठमाडौं पठाउने निर्णय गरेका हन्।
नेपालका लागि भारतीय राजदूत रे आजै मात्र दिल्ली गएका थिए।