एमाओवादीले नयाँ संविधान जारी भएपछि आन्दोलनका क्रममा उठेका जायज माग पुरा गराउन सडक संघर्षमा जाने भएको छ। ‘अहिलेको संविधान कुनै पनि हालतमा जारी हुनुपर्छ भन्नेमा हामी दृढ छौं। तर संविधान जारी गर्दा यसमा बढीभन्दा बढी शक्तिहरुको अपनत्व हुनुपर्छ भन्ने हाम्रो कुरा हो,’ सेतोपाटीसँग कुरा गर्दै पार्टी नेता नारायणकाजी श्रेष्ठले भने, ‘दलित, जनजाती, थारु, मधेसी, महिला लगायतका माग राम्रोसँग सम्वोधन नभएको अवस्था छ। त्यसैले हामी जनदवाव सृजना गर्ने छौं।’
संविधानको कार्यान्वयन गर्न, प्रतिगमन रोक्न र भौगोलिक अखण्डता कायम राख्नका निम्ति पनि आन्दोलनमा अपरिहार्य भएको श्रेष्ठको भनाइ छ।
नयाँ संविधानमा द्वन्दका आधार बाँकी नरहोस्, सीमान्तकृतका हक अधिकार स्थापित होस र वार्ताद्वारा समस्या सामाधान होस् भन्ने पार्टीले चाहेको बताए।
‘यसका लागि सार्थक वार्ता हुन सकेन। वार्ता नहुँदा पनि हामी आँफैले जायज माग सम्बोधन गर्नुपर्थ्यो। तर सत्तारूढ दलले ध्यान दिएनन्,’ उनले भने, ‘यसका लागि अब जनदवाव आवश्यक भयो।’
श्रेष्ठका अनुसार ७० बर्ष देखि जनता गरेको संघर्षको परिणाम अनुसार संविधानसभाबाट संविधान जारी भएकोले यो अत्यन्तै सकारात्मक भएकोले पार्टी अहिलेको प्रक्रियामा दृढ रहेको उनको भनाइ थियो।
तर यसका नकारात्मक परिणामलाई ठीक गर्न संघर्ष जरूरी भएको उनको तर्क छ।