नेपाली काँग्रेसको पदाधिकारी बैठकले मधेशी मोर्चा वार्तामा नआएको भन्दै संविधान निर्माण प्रक्रिया अघि बढाउनु पर्ने निर्णय गरेको छ।
संविधान निर्माण प्रक्रिया स्थगित गर्ने निर्णय गर्दा पनि मोर्चा वार्तामा नआएकाले प्रक्रिया अघि बढाउनु पर्ने निर्णय गरेको उपसभापति रामचन्द्र पौड्यालले जानकारी दिए।
मधेशी मोर्चाले वार्ता नचाहेको बैठकको निष्कर्ष निकालेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभाति पौड्यालले भने,'मधेशी मोर्चा वार्तामा आएन।त्यसैले संविधान निर्माणमा थप ढिलाइ गर्न हुन्न। संविधान जारी गर्न ढिलाइ हुँदै जाँदा नेपाली काँग्रेसको वैधानिकता संकटमा पर्नसक्छ।'
समयमा महाधिवेशन गर्न नसके नेपाली काँग्रेसको वैधानिकता संकटमा पर्ने अवस्था आएकाले जतिसक्दो चाँडो संविधान जारी गरेर महाधिवेशनको तयारीमा लाग्नुपर्ने अधिकाश पदाधिकारीको धारणा थियो।
संयुक्त मधेशी मोर्चाको माग अनुसार संविधान सभाका मुख्य तीन दलले आइतबारसम्म प्रक्रिया स्थगित गर्ने निर्णय गरेका थिए। तर मोर्चाका नेताहरुले भने प्रक्रिया स्थगित नगरी आफूहरुलाई झुक्याइएको प्रतिक्रिया दिएका थिए।
उनीहरुले तत्काल वार्ताको वातावरण तयार नभएको भन्दै अनौपचारिक वार्तामात्रै गर्नसक्ने बताएका थिए।