मधेसकेन्द्रित पार्टीको आह्वानमा भइरहेको अनिश्चितकालीन बन्दले अशान्त बन्दै गएको विराटनगरलाई प्राथमिकतामा राखेर तराईकेन्द्रित अर्को मोर्चा गठन भएको छ। तराईमा भूमिगत सशस्त्र संघर्षमार्फत राजनीतिमा आएको जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्ससमेत सहभागी रहेको यो मोर्चाको नेतृत्व फोरम लोकतान्त्रिकले लिएको छ।
बिहीबार पत्रकार सम्मेलन गरी ‘संघीय समाजवादी मोर्चा’ सार्वजनिक भएको हो। यो मोर्चाले मोरङमा भइरहेको आन्दोलनलाई थप सशक्त पार्ने घोषणा पनि गरेको छ। जनतान्त्रिक तराई मुक्ति मोर्चा टाइगर्सको तर्फबाट पत्रकार सम्मेलनमा सहभागी बन्न मोहम्मद इश्लाम आएका थिए ।
तराईमा उठेको आदिवासी, जनजाति, मधेसी, थारू सबैको मागलाई प्राथमिकतामा राखेर आन्दोलन थालिने मोर्चाले जनाएको छ । तर मोर्चाले आन्दोलनको स्वरुप र कार्यक्रमबारे खुलेर बताएको छैन।
मोरङमा मात्र गठन भएको मोर्चाको संयोजक फोरम लोकतान्त्रिक मोरङका अध्यक्ष भक्तिनाथ माझी हुन्। पूर्वडिआईजी माझीले रिटायर्ड जीवनलाई राजनीतिमा प्रवेश गर्दै फोरम लोकतान्त्रिकमा पुगेका हुन्।
संविधानसभाको दोस्रो निर्वाचनमा उनी मोरङ क्षेत्र नं. ७ बाट उठेका थिए । उनी नेपाली कांग्रेसका नेता महेश आचार्यसँग पराजित भएका थिए । मोर्चामा मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मातृका समूहको नेकपा (माओवादी), थरुहट तराई पार्टी, जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स, थारु कल्याणकारिणी सभा, कोचिला संघर्ष समिति, राष्ट्रिय जनता दल र मधेसी जनता दल (समाजवादी) रहेका छन्।
‘हामी आन्दोलनमै थियौं, आन्दोलनमै छौं र हामीले गर्ने बन्द हडताल नै हो,’ पूर्व डिआईजी माझीले भने, ‘आन्दोलनलाई थप सशक्त बनाउन मोर्चाबन्दी गरेका हौं ।’ माझीले बन्द यथावत् हुने र अन्य कार्यक्रम पछि सार्वजनिक हुँदै जाने बताए।
संयोजक माझीले टाइगर्स समूहसँग मोर्चाबन्दी गरिएको बताए । ‘पूर्व भूमिगत हो, अहिले पार्टी हो,’ माझीले भने । टाइगर्सले धेरै पहिले सरकारसँग वार्ता गरेको थियो । टाइगर्स समूह वार्तापछि गत संविधानसभाको दोस्रो चुनावमा सहभागी बनेको थियो।