मधेशी मोर्चाका नेताहरुको बैठकले सरकारले वार्ताको वातारवरण नबनाएसम्म वार्तामा नबस्ने निर्णय गरेको छ।
वार्ताको वातावरण नबनाई तीन दलले आव्हान गरेको निष्कर्ष निकाल्दै वार्तामा तत्काल सहभागी नुहने निर्णय गरेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सेतोपाटीलाई जानकारी दिए।
भैरहवामा बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनको वातावरण बनाउन पुरानै शर्तहरु दोहोर्याएको छ।
संविधान निर्माण प्रक्रिया केहीदिन रोक्नु पर्ने, सेना परिचालन फिर्ता गरिनुपर्ने, विगतका सहमति कार्यान्वयन गर्नुपर्ने शर्त दोहोर्याएको उनले जानकरी दिए।
संविधान निर्माण प्रक्रिया रोकिनु पर्नेमा जोड दिँदै उनले भने,'संविधान निर्माणको वर्तमान प्रक्रिया नरोकेसम्म वार्ता गर्नुको कुनै तुक छैन्।'
'जबसम्म सरकार दमनमा उत्रिन्छ, तबसम्म वार्ताको कुनै सम्भावना छैन्। आन्दोलनमा दमन नरोकिएसम्म वार्ता हुँदैन,' उनले भने।
उनले विजय कुमार गच्छदारलगायत आन्दोलनमा रहेका सबैसँग सहकार्य गर्न मोर्चा तयार रहेको बताए।
उनले भने, 'हामी सबैसँग सहकार्य गर्छौँ, उहाँहरुसँग पनि सहकार्य गर्न मोर्चा तयार छ। अब आन्दोलनको मैदानमा नै उहाँहरुसँग सहकार्य हुन्छ।'