नेकपा एमालेका नेता झलनाथ खनालले मधेसमा भइरहेको आन्दोलन लोकतन्त्रको मान्यता विपरित रहेको बताएका छन्। तीन दलका शीर्ष नेताहरुको संविधान सभा भवनमा बसेको बैठकबाट बाहिरिने क्रममा संवाददातासँग कुरा गर्दै खनालले भने, 'घरेलु हतियारसहित आएर प्रहरीलाई आक्रमण गर्ने, सरकारी कार्यालय तोडफोड गर्ने कुरा आन्दोलन होइन अराजकता हो।'
खनालले तीन दलले संविधान निर्माणको प्रक्रियालाई कुनै पनि हालतमा नरोक्ने बताए। 'कुनै पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिले संविधान निर्माण प्रक्रियालाई रोक्न सक्दैन,' खनालले भने, 'हामी कसैसँग झुक्दैनौं।'
त्यस्तै एमालेका अर्का नेता माधवकुमार नेपालले कांग्रेस एमालेका मधेसी सभासद् पनि मधेसी जनताको प्रतिनिधी भएको बताए। उनले भने, 'अहिलेको प्रक्रियाबाट मधेसवादी दलको माग सम्बोधन नभएपनि मधेसी जनताको माग सम्बोधन हुन्छ।'