नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधान निर्माणको प्रक्रिया चाँडो सक्नु पर्ने भन्दै संविधान सभामा हुने दफावार छलफलमा प्रस्तावित ७ प्रदेशबाट तिन जनाका दरले मात्रै सहभागी हुन अाफ्ना सभासद्लाई निर्देशन दिएको छ।
सो पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एंवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सभासद्लाई यस्तो निर्देशन दिएका हुन्। बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीले भने ‘संविधान निर्माणको प्रक्रिया चाँडो सक्नुपर्ने भएकाले दफावार छलफलमा प्रस्तावित सात प्रदेशबाट तीन जनाका दरले छलफलमा सहभागी हुन निर्देशन दिइएको हो।‘
ओलीले मधेस केन्द्रित राजनीतिक दलले संविधानसभा बहिष्कार गरेपनि त्यसले संविधान निर्माणमा असर नपर्ने पनि उल्लेख गरे। ‘कांग्रेसका निर्वाचित ५२ जना र एमालेका ३६ जना सभासद्ले पनि मधेसको प्रतिनिधित्व गर्छन्‘ ओलीले भने ‘मधेसको सवालमा मधेस केन्द्रित दलभन्दा कांग्रेस र एमालेसँग नै बहुमत छ।‘