प्रादेशिक सिमाङ्कनको विरोधमा आन्दोलनरत संयुक्त मधेशी मोर्चाको अगुवाईमा जारी मधेश आन्दोलनमा विभिन्न पेशागत संघसंगठनले ऐक्यबद्धता तथा समर्थन जनाउँदै महोत्तरीको जलेश्वरमा सोमबार विरोध प्रदर्शन गरेका छन्।
२४औं दिन देखि जारी मधेस बन्दमा क्रममा महोतरीको जलेश्वरमा भइरहेको आन्दोलन एकढिक्का बन्न नसकिरहेकै बेला सरकारी कर्मचारीहरु र विभिन्न पेशागत संघ संगठनका पदाधिकारीहरुले जुलुस प्रदर्शन गरेका हुन्।
जिल्ला शिक्षा कार्यालय अगाडिबाट सुरु भएको विरोध र्यालीले मटिहानीचौक, खैराचौक, दुर्गाचौक, शंकरचौक, नगरपालिकाचौक हुँदै जलेश्वरको विभिन्न भागको परिक्रमा गरी शिक्षा कार्यालय अगाडि पुगी आमसभामा परिणत भएको थियो।
आम सभामा नेपाल शिक्षक महासंघमा आवद्ध सम्पूर्ण संघ संगठन, नेपाल निजामति कर्मचारी संघ संघठन, स्वास्थ्य संठ संगठन लगायत एक दर्जन भन्दा बढी पेशागत संघ संगठनका प्रमुखहरुले मधेश आन्दोलनले उठाएको जायज माँग पुरा गर्नका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वहरुलाई आग्रह गरेका थिए।
र्यालीमा जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरु, बैंक तथा वित्तिय संस्था, स्थानिय निकाय र पेशागत संघ संगठनबाट सहभागी भएकाहरुले सेना फिर्ता गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने लगायतका माग राख्दै नारा लगाएका थिए।
सिमाङ्कनको विरोधमा आन्दोलनरत दलहरुको आह्वानमा सोमबार २४ औं दिन पनि महोतरीको सम्पूर्ण बजार बन्द रह्यो।
अनिश्चिकालिन बन्दले यातायात, शिक्षण संस्था, बजार, कलकारखाना लगायत दैनिक मजदुरी गरि खाने श्रमिक पनि प्रभावित भएका छन्। सदरमुकाम जलेश्वर लगायत बर्दिवास, गौशाला, मटिहानी, सम्सी, रामगोपालपुर, औरही, पिपरा लगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।