राज्यले थारुहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा सदियौ देखि व्यवहार गर्दै आएको भन्दै कैलालीका थारुहरुले स्थानीय प्रशासनमार्फत राज्यलाई नेपाली नागरिकता बुझाउँने भएका छन्।
साउन २२ गतेदेखि जारी थरुहट/थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो उल्टै दमन गरेको भन्दै उनीहरुले दवाव स्वरुप नागरिकताको प्रमाण पत्र बुझाउँन लागेका हुन्। थरुहट/थारुवान संयुक्त संघर्ष समिति क्षेत्र न–४ कैलालीको आयोजनामा मसुरियामा यहि भदौ २१ गते हुने विरोधसभावारे जानकारी गराउँन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताईएको हो।
एनेकपा माओवादी कैलाली सचिव तथा पूर्व सभासद कृष्ण कुमार चौधरी ‘कुन्दन’ थरुहट/थारुवान आन्दोलनको हालसम्म कुनै सुनुवाई नभएको भन्दै राज्यलाई दवाब दिने उदश्यले नागरिकताको प्रमाणपत्र बुझाउँने र विरोध सभा आयोजना गर्न लागेको जानकारी दिए।
उनले भदौ २० गते कैलाली क्षेत्र न–४ बाट ५ हजार नागरिकताको प्रमाण पत्र बुझाउँने बताए। सदियौदेखि थारूहरुलाई गैरनेपालीको रुपमा राज्यले व्यवहार गरिरहेको आरोप लगाउँदै पूर्व सभासद चौधरीले पहिलो चरणमा क्षेत्रगत रुपमा बुझाउँने र मागको सुनुवाई नभए जिल्लाव्यापी रुपमा नागरिकता बुझाउँने कार्यक्रम रहेको पनि जनाए।
गाविसमा रहेका गाविस सचिवहरुलाई जिल्ला पठाउने, राज्यलाई कुनै पनि किसिमको कर नतिर्ने लगायतका कार्यक्रमहरु र्ग्न लागेको बताईएको छ।
भदौ २१ आयोजना गर्ने क्षेत्रिय स्तरको विरोध सभामा करिब १० हजार जनमास उतार्ने आयोजकले जानकारी दिएको छ।