संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले पूर्वी नेपालमा जनताको बृहत राजनीतिक सहमति बिना प्रस्तावित प्रदेश १ को सीमांकन बदलिएमा अर्को ‘राजनीतिक आगो’ बल्ने बताएका छन्।
‘अरूण पूर्वका ९ जिल्लाको लिम्बुवान बन्नुपर्छ भन्ने हाम्रो माग हो, तर अन्य केही क्षेत्र थपियो। अहिलेको सीमांकनले भने ऐतिहासिक लिम्बुवानको भूगोल टुक्र्याएन जुन सकारात्मक छ,’ सेतोपाटीसँग कुरा गर्दै लिङ्देनले भने – ‘हाम्रा अरु मागहरु भने यथावत छन्। यसकारण हामी आन्दोलनमा छौं।’
धर्म निरपेक्षता, पूर्ण समानुपातिक प्रणाली, आदवासी जनजातीका अधिकार र थ्रेसहोल्डको खारेजी अहिलेको प्रमुख माग भएको भएको लिङ्देन भनाइ छ। ‘हामी धेरै कुरामा स्पष्ट हुन चाहन्छौं र राज्यले उपयुक्त कदम लिनुपर्छ,’ उनले भने।
मधेसवादी दल पनि पूर्वीनेपाल मधेसमा पर्नुपर्छ भनेर आन्दोलित छन्। सरकार र मधेसवादी दलबीच वार्ता प्रक्रिया भने अझै शुरू भएको छैन।
तर पूर्वमा झापा, मोरङ र सुनसरी भने लिम्बुवानको ऐतिहासिक भूगोल भएकोले ती जिल्लालाई लिम्बुवानबाट टुक्र्याए परिणाम ‘घातक’ हुने लिङ्देनको भनाइ छ। ‘यी क्षेत्र ऐतिहासिक रूपले विजयपुरबाट सञ्चालित क्षेत्र हुन्। यी क्षेत्र लिम्बुवान हुनु भनेको लिम्बुवानको ऐतिहासिकता स्वीकार्नु हो,’ उनले भने – ‘यसलाई अस्वीकार गरे पूर्वी नेपालमा आगो बल्छ।’
तर उनको पार्टी वार्ताद्वारा समस्या सामाधान गर्न तयार रहेको बताए। ‘विवाद हुन सक्छ। त्यसैले राज्यले सीमांकनका लागि राजनीतिक गोलमेच आयोजना गरोस् भन्ने चाहन्छौं। पश्चिम नेपालमा गोलमेच छलफल नभएका कारणले दुर्घटना भएको हो,’ उनले भने, ‘सामाधान वार्ता र छलफलद्वारा गर्नुपर्छ।’
लिङ्देनले हिमाल, पहाड, तराई मिलेर लिम्बुवान सबै जाति/जनजातीको साझा भूगोल भएको तर्क गरे। लिम्बुवानले अन्य जात/जातिका मानिसलाई अपमानित गरेको सुन्नु भएको छ?,’ उनले प्रश्न गरे, ‘हाम्रो पार्टीमा आधाभन्दा बढी गैर-लिम्बुहरु छन्। सबै मिलेर हाम्रो पार्टी बनेको हो।’
अहिले पूर्वी नेपालमा मधेसवादी दलले गरेको आन्दोलनको प्रभाव न्यून रहनु पनि झापा, मोरंङ, सुनसरी प्रस्तावित प्रदेश १ मा नै जनता रहन चाहन्छन् भन्ने प्रमाण भएको लिङ्देनको दाबी छ। ‘झापा, मोरङ, सुनसरी कता पर्ने भनेर पूर्वी नेपालका जनतालाई सोधौं। छलफल र वार्ताद्वारा समस्या सामाधान गर्न सकिन्छ,’ उनले भने।
लिम्बुवानका लागि निरन्तर संघर्ष र सबै जातिको समर्थन प्राप्त भएकाले आफ्नो आन्दोलनलाई अन्य आन्दोलनसँग दाँज्न नहुने उनको भनाइ छ।‘हामीले सत्ता स्वार्थका लागि राजनीति गरेका होइनौ। हामी मन्त्री हुन गएनौ। हाम्रो संघर्ष निरन्तर छ।’